Erani Mahal
विश्व एड्स दिवस मनाइयाे
IMG_0190-1200x550
पाल्पा - तानसेनमा शुक्रबार ३६ औं विश्व एड्स दिवस मनाइएको छ । यस वर्षको एड्स दिवस ‘समुदायले नेतृत्व गरौं’ भन्ने नाराका साथ एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाको समन्वयका साथै नेपाल परिवार नियोजन संघ, युनाइटेड मिसन अस्पताल, प्रतिवद्ध सहयोग समूह, पाल्पा टेक्निकल इष्टिच्युटको आयोजनामा एड्स दिवस मनाइएको हो । कार्यक्रमबारे प्रकाश पार्दै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले हाल पाल्पा जिल्लामा ३ सय ५२ जना एचआईभीबाट संक्रमित रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । जसमा संक्रमित बालबालिकाको संख्या २० रहेको छ भने एआरटि उपचारमा ३ सय ५१ जना रहेका छन् । तथ्यांक अनुसार १ सय ८७ महिला र १ सय ६५ पुरुष एचआईभी संक्रमित छन् । यसवर्ष पाल्पामा एक जना एचआईभी संक्रमितको एड्सबाट मृत्यु भएको प्रतिवद्ध सहयोग समूह समाजकी कार्यक्रम संयोजक अस्मिता भण्डारीले जानकारी दिनुभयो । पाल्पाका तानसेनस्थित युनाइटेड मिसन अस्पताल र रामपुरको रामपुर अस्पतालबाट एआरटी सेवा पाउने व्यवस्था छ । संक्रमितको संख्या धेरै भएपनि अपमान, भेदभाव र लाञ्छनाका कारण समाजमा खुल्न नसकेको कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले बताउनुभयो । उहाँले उनीहरु समाजमा खुलेर आफ्नो जीवनयापन गर्न पाउने वातावरण मिलाउने जिम्मा सबैको भएको बताउनुभयो । एचआईभी संक्रमित गाउँ–गाउँमा रहे पनि उनीहरु डरका कारण अझै रोग पालेर बस्ने गरेको जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले बताउनुभयो । भारत लगायत अन्य देशमा काम गर्न जानेहरु फर्किदा एचआईभी संक्रमित भएर आउने गरेको दाबी छ । तर एचआईभी विभिन्न कारणले गर्दा मुलुकभित्र पनि संक्रमित हुन सक्छन् । एचआईभी रोग हो भन्ने कुराको अझै पनि समाजमा वातावरण नबनेको प्रतिवद्ध सहयोग समूहका विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । मिसन अस्पतालकी निर्देशक डा. रचेल कारखका अनुसार गत आर्थिक वर्षमा ६ हजार २ सय ७२ जनालाई जाँच गर्दा २६ जना पोजेटिभ देखिएको थियो । साउनदेखि कार्तिकसम्म २ हजार १ सय १८ जनालाई जाँच गर्दा एक जना पोजेटिभ देखिएको छ । कार्यक्रममा करुवा अर्धसाप्ताहिकका सम्पादक कृष्ण कार्कीले समाजमा एचआईभी संक्रमित पनि खुलेर हिड्न पाउने अवस्थाको अझै विकास नभएको र उनीहरुको उपचार र हेरचाह साथै समाजमा घुलमिल हुने वातावरण मिलाउन आग्रह गर्नुभयो । कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पाका कार्यवाहक अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता, सक्रिय सेवा समाजका विष्णु प्रसाद न्यौपानेको स्वागत, पाल्पा टेक्निकल इष्टिच्युटका प्रिन्सिपल त्रिलोचन पौडेलको धन्यवाद ज्ञापन र नेपाल परिवार नियोजन संघकी युवा सदस्य वर्षा पाण्डेयको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update