Erani Mahal

पाल्पा - अपाङ्गता भएका व्यक्तिहरुका लागि ५ बर्षे जिविकोपार्जन सुधार परियोजना कार्यक्रमको समिक्षा कार्यक्रम विहिबार रामपुर पाल्पामा सम्पन्न भएको छ ।
 

 


 परियोजना अन्तर्गत रामपुर नगरपालिका र रम्भा गाँउपालिकामा ५ बर्षको अवधिमा भएका कार्यक्रमको समिक्षा गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुका लागि परियोजना मार्फत भएका विभिन्न कार्यक्रम , यसको प्रभावकारीता , चुनौती र निरन्तरताका विषयमा छलफल भएको थियो । युरोपियन युनियन अन्तर्गत ओएनजिडि एफएनइएल को आर्थिक सहयोगमा परिलक्षित संस्थाले परियोजनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई जिविकोपार्जनका लागि सिप क्षमता विकास र व्यवसायीक रुपमा सञ्चालनका लागि आर्थिक र भौतिक सहयोग गर्दै आएको छ ।
 


    कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि संरक्षकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई जिवनउपयोगि सिप सिकाउने र व्यवसायी बनाउने उपयुक्त बातावरण अविभावकले बनाउनु पर्ने बताउनुभयो । साथै अपाङ्गता भएकाहरुलाई आफुलाई कमजोर नसोच्न आग्रह गर्दै सिप सिकाई जिविकोपार्जन गर्नका लागि नगरपालिकाले अविभावकिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका लागि सिप सिक्ने व्यक्तिले सोही अनुसारको प्रतिबद्धता गर्न आवश्यक रहेको बताउनुभयो । साथै अपाङ्गताको क्षेत्रमा साझेदारीमा कार्यक्रम सञ्चालन गर्न नगरपालिका तयार रहेको बताउनु भएको छ।


   कार्यक्रममा रामपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारुले स्थानीय निकाय संग समन्वय गरेर परिलक्षित संस्थाले कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका पशु शाखा प्रमुख तुलसीराम काफ्ले , रम्भा गाँउपालिका वडा नं. १ का कृषि प्राविधिक प्रतिमा घिमिरेले परिलक्षितले संचालन गरेको कार्यक्रम प्रभावकारी भएको र अपाङ्गता भएका व्यक्तिहरुको आयस्तरमा वृद्धि भएको बताउनुभयो । होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रममा परिलक्षित संस्थाका कार्यकारी निर्देशक सुर्य थापाले आगामी दिनमा परियोजनालाई स्थानीय तह संग समन्वय र साझेदारी गरि अझ परिस्कृत रुपमा सञ्चालन गरिने बताउनु भएको छ ।


   कार्यक्रमका अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । समिक्षा कार्यक्रमका अवसरमा रामापुर नगरपालिका वडा नं. २ की विष्णुमाया नेपालीलाई व्यटिपालर सञ्चालनका लागि आवश्यक कुर्चि सहितको अन्य सामग्री , वडा नं. ४ की कमला भुषाललाई सिलाई मेसिन सहित अन्य आवश्यक सामग्री र वडा नं. ७ का सन्दिप भट्टराईलाई मोवाईल मर्मतका सामग्री हस्तान्तरण गरेको छ । उनिहरुलाई सिप सिक्नका लागि तालिमको व्यवस्थ समेत परियोजनाले सहयोग गरेको थियो । परियोजना अन्तर्गत रामपुर नगरपालिका र रम्भा गाँउपालिकाका ९९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सिप सिकाईनु का साथै अन्य सहयोग गरेको छ ।



   अपाङ्गता र अविभावक संघ रामपुरका पूर्व अध्यक्ष पिताम्बर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । परिलक्षितका कोषाध्यक्ष द्रोण बहादुर सेनको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक सुर्य थापाले गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु , अविभावक ,जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

 
 
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update