Erani Mahal

पाल्पा – नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता, शासकीय स्वरुपका विषयमा छलफल गर्न सकिने भएपनि व्यवस्थाको विषयमा छलफल हुन नसक्ने बताउनुभयो । शनिबार पार्टीको जिल्ला अधिवेशनका अवसरमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्था उत्तम भएको बताउनुभयो ।

केही दुई/चार जना नेताको कारणले व्यवस्था नै नराम्रो हो भन्ने नसकिने उहाँको जिकिर छ । व्यवस्था मात्र परिवर्तन गर्ने बहसले अर्को पुस्ताले थप २० वर्ष दुःख पाउने थापाले बताउनुभयो ।

नागरिकले अहिले पनि राम्रो दिन आएको महशुस गर्न नपाएकाले राम्रो दिन आयो भनेर जनताले भन्न सक्ने वातावरण बनाउनुपर्ने थापाले बताउनुभयो । देशमा व्याप्त भ्रष्टाचार र कुशासनलाई नेपाली काङ्ग्रेसले नागरिकलाई जवाफ दिन सक्नुपर्ने थापाको भनाई छ । अन्य दललाई जस्तो काङ्ग्रेसलाई नागरिकको प्रश्नबाट भाग्न मिल्ने अवस्था नरहेकाले प्रत्येक प्रश्नको जवाफ काङ्ग्रेसले दिनुपर्ने उहाँको जिकिर छ । अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि काङ्ग्रेसले के हो भनेर जवाफ दिन सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

gagan-nc-palpa-1702783499.jpg

वि.स. २०४६ पछि सबै उच्च तहमा बसेका व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्ने र त्यसका लागि आफूले संसदमा प्रस्ताव लैजान लागेको थापाले बताउनुभयो । थोरै मानिसले गरेको अपराधको भारी आठ लाख नेता कार्यकर्ताले बोक्नुपर्ने अवस्था आएको भन्दै सबैले खराब प्रवृत्तिका बिरुद्ध बोल्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्म आङ्दम्बेले पार्टीभित्रको गुटउपगुट भत्काएर मात्र कांग्रेस बलियो बन्ने विचार राख्नुभयो । कार्यक्रममा लुम्विनी प्रदेशका अध्यक्ष अमसरसिंह पुन, केन्द्रीय सदस्य रुपा विक, दिपक गिरी, पूर्व केन्द्रीय सदस्यहरू हरि नेपाल र राजन पन्त, प्यूठानका सभापति विष्णु गिरीलगायतले सम्मेलन सफताको शुभकामना दिनुभयो ।

सम्मेलनमा सभापति हिमालदत्त श्रेष्ठले राजनैतिक तथा वार्षिक प्रतिवेदन, सचिव सन्तोषकुमार थापाले सांगठनिक प्रतिवेदन, कोषाध्क्ष मोहन श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा उपसभापति झपेन्द्र गहिरेको स्वागत, सचिव सुनिता अधिकारीको संचालन तथा सभापति श्रेष्ठको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाका पूर्व सभापतिहरू, पूर्व केन्द्रीय सदस्यहरू, पार्टीका विभिन्न तह र तप्कामा रहेर पार्टी निर्माणमा योगदान गर्नेहरूलाई सम्मान गरिएको थियो । सम्मेलनमा जिल्लाभरबाट एक हजार बढी नेता, कार्यकर्ता सहभागी रहेको कांग्रेसले जनाएको छ ।

 
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update