Erani Mahal
पाल्पाकाे रम्भा गाउँपालिकामा बाल कक्षादेखि नाैँ कक्षासम्मै दिवाखाजाकाे व्यवस्था

पाल्पा – कक्षा–६ देखि ९ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय छाड्ने दर घटेको छ । रम्भा गाउँपालिकाले कक्षा–६, ७, ८ र ९ का विद्यार्थीका लागि दिवा खाजाको प्रवन्ध गरेपछि यहाँका विद्यार्थी विद्यालयमा नियमित आउने गरेका छन् । 


सङ्घीय सरकारले बालकक्षादेखि कक्षा–५, सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपियाँ अनुदान दिएको छ । रम्भा गाउँपालिकाले भने कक्षा–६ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि दैनिक २० रुपियाँको खाजा खुवाउने गरेको रकमादेवी आधारभूत विद्यालयका निमिक्त प्रधानाध्यापक विष्णुप्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले माथिल्लो कक्षाका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी हुँदै नियमित विद्यालयमा आउने गरेको बस्यालले बताउनुभयो । दिवा खाजाले माथिल्लो कक्षामा विद्यालय छाड्ने दर कम हुँदै गएको उहाँले बताउनुभयो । 


विद्यालयमा नआउने बोटे, कुमाल, विपन्न र माझी समुदायका बालबालिकालाई दिवा खाजाले नियमित विद्यालय आउने वातावरण बनाएको छ । पहिले विद्यालयमै नआउने र आएर पनि बीचमै कक्षा छाड्ने विद्यार्थीहरू विद्यालयमा खाजा नास्ता खाएर रमाउँदै पढ्ने गरेका गाउँपालिकाले जनाएको छ । 


माथिल्लो कक्षामा दिवा खाजाको प्रवन्ध गरेपछि विद्यालय छाड्ने विद्यार्थी घट्दै गएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले बताउनुभयो । दिवा खाजाका कारण विपन्नता र अन्य कारणले विद्यालय छाड्ने विद्यार्थीहरू विद्यालयमा आएर नियमित कक्षा लिइरहेको उहाँले बताउनुभयो । 

 

diwa-khaja-khadai-palpa-(1)-1703686414.jpg
 


गाउँपालिकाले यो वर्ष कक्षा–६ देखि ९ सम्मका एक हजार ४५ जना बालबालिकालाई दिवा खाजा खुवाउँदै आएको छ । आगामी वर्ष कक्षा–१० का विद्यार्थीलाई समेत खाजा खुवाउने योजना गाउँपालिकाले बनाएको छ । 


दिवा खाजाका कारण कतिपय संस्थागत विद्यालयले विद्यार्थी नभएर कक्षा घटुवा गर्नुपरेको छ । दिवा खाजाकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित भएपछि रम्भा गाउँपालिकाभित्रका संस्थागत विद्यालयले कक्षा कटौती गरेको गाउँपालिकाले जनाएको छ । दिवा खाजाको प्रवन्धले संस्थागत विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा आकर्षित भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 


रम्भाका विद्यार्थीलाई सामुदायिक विद्यालयमा भित्र्याउने, टिकाउने र बिकाउने निती अनुसार आफूहरूले खाजाको प्रवन्ध गरेको अध्यक्ष भण्डारीको भनाई छ । उहाँले भन्नुभयो, ‘दिवा खाजाले बालबालिकालाई सामुदायिक विद्यालयमा भित्र्याउने र टिकाउने काम गरेको छ, उनीहरूलाई प्राविधिक ज्ञान र सीपको माध्यम्बाट बिकाउने गरी पठनपाठनको व्यवस्था गरेका छौँ ।’ 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update