Erani Mahal
पत्रकार महासंघ पाल्पाकाे स्थापना दिवस मनाइयाे

पाल्पा – पाल्पाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा स्थापनाको ३२ औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्थापना दिवसको अवसरमा पत्रकारहरूीच छलफल तथा अन्तरक्रियाको आयोजना गरेको छ ।

छलफल कार्यक्रममा महासंघका संस्थापक सभापति एवं बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारहरु बलियो बन्नका लागि मिडिया हाउस पनि बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले समानुपाति विज्ञापन निती कार्यान्वयनमा पत्रकार महासंघले सम्बन्धित तीनै तहका सरकारलाई झक्झक्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनुशासित र मर्यादित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । 

fnj-palpa1-1704382198.jpg
कार्यक्रममा महासंघका अध्यक्ष रेखीराम रानाले आफ्नो जिम्मेवारी अनुसार महासंघ अघि बढेको उल्लेख गर्नुभयो । महासंघ कसरी अगाडि बढ्ने भन्नेमा व्यक्तिगत धारणा र अपेक्षा फरक हुन सक्ने भएपनि महासंघको मर्म र भावनालाई कुल्चेर अघि बढ्न नसकिने उहाँले उल्लेख गर्नुभयो । उहाँले महासंघ स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईले पत्रकारिता, हिजो, आज र भोलि विषयक अबधारणपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले पत्रकारहरुले आफ्नो क्षमता र दक्षता अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै महासंघका पूर्व सभापति झपेन्द्र गहिरेले महासंघले संचालन गरेको सदस्यता शुद्धिकरणले पत्रकारका हितमा हुन नसकेको बताउनुभयो । महासंघकै निवर्तमान अध्यक्ष राजेशकुमार अर्यालले पत्रकारले पत्रकारिता बिग्रिएको मात्र चिन्ता गरेर नहुने भन्दै आफूले पाठकलाई के कन्टेन्ट दिइरहेको छु भन्ने पनि हेक्का राख्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा लुम्विनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष यम गाहाले लुम्बिनी प्रदेशको समग्र मिडिया विकास तथा व्यबस्थापनको लागि परिषद गठन भए पनि प्रदेश सरकारबाट बजेट नै नपाएको बताउनुभयो । प्रदेशका मिडया हाउसको विकासका लागि समन्वय परिषदलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । महासंघका सल्लाहकार कमलराज तिमिल्सिनाले अहिले पनि महासंघमा तीन वर्षअघिको चुनावको धङ्धङी रहेकाले त्यसलाई हटाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा  पत्रकारहरु देवबहादुर पचभैया, जगदीश भट्टराई, कृष्ण कार्की, मन गहिरे, किरण कौशल, विजय बौडेल, बिष्णु घिमिरेलगायतले शुभकामना दिनुभयो । कार्यक्रम महासंघका अध्यक्ष रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update