Erani Mahal
बजार अनुगमन ऐन पारित गर्दै रामपुरको १४ औँ अधिवेशन सकियो

पाल्पा , रामपुर नगरपालिकाको नगर सभा तथा १४ औँ अधिवेशन बिहिबार सम्पन्न भएको छ । स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको छ । यस्तै सभाले विभिन्न योजनाको बजेट रकमान्तर र शिर्षकान्तर , ऐन तथा कार्यविधि पारित एवं विभिन्न समिति पुनगठन समेत गरेको छ ।

rampur-14-u-nagar-sava-1705026633.JPG


   सभाले वडा तथा नगर स्तरीय ६३ वटा योजनाको रकमान्तर तथा शिर्षकान्तर गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको बजेट रकमान्तर र शिर्षकान्तर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै न्यायीक समितिको कार्य विधि सम्बन्धि ऐन २०७५ संशोधन सहित पारित गरेको छ । नमस्ते पाल्पा होटलको सभाहलमा भएको सभामा नगर सभाका सदस्य तथा विधेयक समिति सदस्य दिनेश आचार्यले प्रस्तुत गर्नु भएको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन र न्यायीक समितिको कार्यविधि संशोधन सहित सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै लेखा समिति संयोजक दामोदर पाठकले सभामा वेरुजु संपरिक्षण प्रतिवेदन पारित गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।

अधिवेशनले  विभिन्न समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सभाले तेज बहादुर रानाको संयोजकत्वमा ५ सदस्यिय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा मदन खाँण ठकुरी ,हरिनाथ ढुंगाना , कमला देवि रुचाल र नरेन्द्र कुमार जर्घालाई सर्वसम्मत रुपमा चयन गरेको छ । यस्तै मिन बहादुर सिंजालीको संयोजकत्वमा विधायन समिति गठन गरेको छ । सदस्यमा विष्णुमाया गैह्रे , मोहमद अजिम शेख , सुमित्रा वर्मेली सार्की , र नारायण चन्द ठकुरीलाई चयन गरेको छ । यसैगरी मोहन सिं रानाको संयोजकत्वमा अनुगमन तथा सुशासन समिति गठन गरेको छ । जसको सदस्यमा युवराज शाही , थममाया नेपाली दर्जी , मिठ्ठुमाया सुनार र गोप बहादुर रानालाई सर्वसम्मत चयन गरेको छ ।


  सभामा पेश भएको बजेट रकमान्तर शिर्षकान्तरको विषयमा बोल्दै नगर प्रवक्ता कपिल बहादुर खाँणले विद्यालयको अनुगमनको शिर्षक प्रष्ट उल्लेख सहित   संशोधन माग गर्नु भएको थियो भने सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । सभामा उठेका प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले हरेक योजना तथा ऐन कार्यान्वन गर्दा विधि संवत रुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको समुचित विकास र समृद्धिका लागि बजेटको कार्यान्वयन र पारदर्शीतामा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ ।


रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराउनु भएको सभामा नगर सभा सदस्य तथा वडा नं. १० का अध्यक्ष तोयानाथ सारु थापा र कार्यापालिका सदस्य दुर्गा देवि भण्डारी गौतमले नगर सभा सफलताको शुभकामना दिनु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update