Erani Mahal
‘राजनीतिक दलकै कारण जनतामा वितृष्ण बढ्दैछ’ 

पाल्पा - सरकार संचालन गर्ने राजनीतिक दलको बोली र व्यवहार फरक भएकाले देशको राजनीतिक अवस्थाप्रति वितृष्णा बढ्दै गएको तानसेनमा एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

 


विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी पाल्पाले आयोजना गरेको राज्य षडयन्त्र, वर्तमान राजनीतिक संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले सरकारी संरचनामा सत्ता संचालन गर्ने दलको व्यवहारको कारण जनताहरुमा राजनीतिक वितृष्णा बढ्दै गएको जनाएका छन् । 

 


कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष सीले राज्य षडयन्त्र, वर्तमान राजनीतिक संकट र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै राजनीतिक दलकै व्यवहारको कारण देशमा अस्थिरता बढ्दै गएको बताउनुभयो । उहाँले सबै राजनीतिक दलले बोलीमा एउटा भन्ने र व्यहार फरक देखाउने गरेको बताउनुभयो । उहाँले आफ्नाे पाटीले शान्तिपूर्ण राजनीतिमा आउने भनेर सरकारसँग तीन बुँदे सम्झाैता भएकाे भएता पनि अदालतले पक्राउ पुर्जि जारी गर्नु साम्राज्यवाद र विस्तारवादीहरुकाे हस्तक्षेप र षडयन्त्र भएकाे बताउनुभयाे । 

 


उहाँले शान्ति प्रक्रियापश्चात भएका देशको राजनीतिक घटनाक्रममा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनुभयो । उहाँले सरकार, राज्य संन्त्र, एमसिसी जस्ता घटनाहरुमा विदेशी हस्तक्षेप बढी रहेकोले त्यस विरुद्ध सबै जागरुक भएर लाग्नुपर्ने बताउनुभयो । 

 


कार्यक्रममा नेकपा एमालेका जिल्ल अध्यक्ष धनेन्द्र राज घिमिरेले देशको सार्वभौमिकतामा ह्रास आउने गरी काम गर्नुनहुने बताउनुभयोृ । यस्तै समाजवादी पाटीका नेता जगन्नाथ पोखरेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले देशका राजनीतिक दलले भनेको अनुसारको काम नगरेकाले जनता निराश भएको बताउनुभयो । उहाँले काँग्रेस, एमाले र माओवादीलाई जनताले ठूलो दल बनाएर अवसर दिएको भएता पनि उनीहरुले व्यवहार परिवर्तन नभएकोले नयाँ दलहरुको विकल्पमा जनता जान सक्ने बताउनुभयो । 

 


राप्रपा अध्यक्ष डुल बहादुर कुँवरले राजाले बनाएका संरचनामा समेत राजनीतिक दलले ध्वस्त बनाएको बताउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सुमन गैरेले पुराना दलहरु नसच्चिए नयाँ दलहरुले देश चलाउनसपर्ने बाध्यता आउने बताउनुभयो । 

 


बुद्धिजीवि निर्मल श्रेष्ठले नेपालको राष्ट्रियता खानपान, लत्ताकपडा, बोलीचालीबाट नै हराउन थालेको बताउनुभयो । उहाँले विदेशी कपडा लगाउने, विदेशी स्टाइलका बोलीचाली गर्ने, अनि नेपालको संस्कृति जर्गेना भनेर कसरी हुन्छ भनेर प्रश्न गर्नुभयो । नेपालको मौलिक भाषा, कला, संस्कृतिको संरक्षणसँगै विकासमा ध्यान दिन सकेमा नेपाल समृद्धितर्फ जाने बताउनुभयो । 

 


कार्यक्रममा जनता सामाजवादी पार्टीका नेता खिक बहादुर रेश्मी, पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिेना, पार्टीका कार्यकर्ता, समाजसेवी, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो ।

 
 
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update