Erani Mahal
तानसेन स्थित ऐतिहासिक भगवती मन्दिर तीन तले बनाउन तयारी

पाल्पा - तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीन तले बनाउन तयारी गरिएको छ । वि.स. १९९० को भूकम्पअघिकै स्वरुपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

 

 

१९९० को भूकम्पअघि तीन तले रहेको भगवती मन्दिर भुकम्पले भत्काएपछि दुई तले बनाइएको थियो । हाल दुई तले मन्दिर जीर्ण भएका कारण छानो चुहिएर छानोमाथि प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण पुन मन्दिर निर्माण गर्ने र उक्त मन्दिर तीन तले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो ।

 

 

मन्दिर तीन तले बनाउन डिजाइन र स्टमेटको काम भइरहेको छ । यस्तै मन्दिर बनाउन आवश्यक बजेटका लागि लुम्विनी प्रदेश सरकार र पुरातत्व विभागसँग छलफल भइरहेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । जीर्ण भएको दुई तले मन्दिर भत्काएर पुरानै तीन तले स्वरुपमा बनाउन चार करोड लागत लाग्ने अनुमान गरिएको छ ।

 

 

वि.स. १८७१/०७२ मा नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौज विजय भएपछि तत्कालिन कर्णेल उजिरसिंह थापाको निर्देशनमा तीन तले मन्दिर बनाइएको थियो । त्यसअघि भगवतीको मन्दिर सानो थुम्काका रूपमा रहेको जानकारहरू बताउँछन् । नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरे आफूले ठूलो मन्दिर बनाउने र भगवतीको महिमा फैलाउने कर्णेल थापाले भाँकल गर्नुभएको थियो । जितगढी किल्ला विजय भएर आएपछि वि.स. १८७६ देखि तानसेनमा लगातार भगवतीको जात्रा निकाल्ने प्रचलन कायम रहेको छ । नेपाल–अङ्ग्रेजको युद्धमा जितगढी किल्ला विजयी गरेपछि भगवतीको मन्दिर तीन तले बनाइएको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो ।

 

 

तीन तले मन्दिर ९० सालको भुकम्पमा भत्किएपछि दुई तले निर्माण गरिएको श्रेष्ठले बताउनुभयो । तानसेन बजार क्षेत्रमा रहेको ऐतिहासिक भगवती मन्दिरलाई तीन तले बनाएर यसको ऐतिहासिकता कायम गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । भगवती मन्दिरलाई पुरानै स्वरुपमा बनाउन सके यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने विस्वास गरिएको छ । भगवतीको महिमा फैलाउन हरेक वर्ष भगवती जात्रा मनाउने प्रचलन रहेको छ ।

 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update