Erani Mahal
झडेवालाई खुर्सानी पाकेट क्षेत्र बनाउँदै माथागढी 

पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाले वडा नं. ४ झडेवामा खुर्सानीको पाकेट क्षेत्र बनाउने भएको छ । अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले निर्वाहमुखी परम्परागत कृषि प्रणाली छाडेर व्यवसायिक बनाउने सोंचका साथ गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाका कृषि प्राविधिकहरुलाई अधिकतम प्रयोग गरेर सेवा लिन अनुरोध गर्नुभयो । 

 


कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले गाउँपालिकाले माटो परीक्षण, नर्सरी, बजारीकरण देखी सबै खाले प्राविधिक सहयोग गर्ने बताउनुभयो । 

 


एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत पाकेट कार्यक्रम अनुसार व्यवसायिक रुपमा खेती गर्नको लागि खुर्सानीको बीउ अनुदान तथा अभिमुखिकरण सम्पन्न भएको वडा अध्यक्ष शंकर दर्लामीले बताउनुभयो । प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष शंकर दर्लामीले झडेवालाई खुर्सानी पकेट क्षेत्र घोषणा गरिएको भन्दै कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममा सहभागि हुनुपर्ने बताउनुभयो । 

 


गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले गतवर्ष ३ सय ५० रोपनी क्षेत्रफलमा खुर्सानी खेति गरी एक करोड रुपैंया बराबरको कारोबार भएको झडेवा क्षेत्रमा यसवर्ष त्यसमा वृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो  । 

 


कार्यक्रममा सहभागि कृषक देव बहादुर बरालले पालिकाले बीउ दिँदा सबै कृषकले खेति गरि उत्पादित परिमाण बिक्रि गर्न सहज हुने बताउनुभयो । झडेवाका २४ वटा समुहका करिब ५ सय कृषकहरुलाई ९ सय प्याकेट नेपाहर्ट र ५० प्याकेट अकबरे खुर्सानीको बीउ वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । तस्विर ः विजय बौडेलको सहयोगमा । 
 

 
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update