Erani Mahal
सामुदायिक रेडियाे मदनपाेखराले रजत जयन्ति मनाउँदै

पाल्पा - सामुदायिक रेडियो मदनपोखराले २५ औँ वार्षिकाेत्सव तथा रजत जयन्ती विविध कार्यक्रमसहित मनाउने भएको छ । स्थानीय बासिन्दाकाे पहलमा वि.स. २०५६ चैत २३ गतेदेखि प्रशारण सुरू गरेकाे रेडियाेले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने जनाएकाे छ ।

 

 

रजत जयन्तीका अवसरमा हुन लागेकाे कार्यक्रमबारे जानकारी दिन आयाेजित पत्रकार भेटघाटमा रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीले रेडियोले हालसम्म खेलेको भूमिका, पछिल्लो अवस्था, रेडियोको भविष्य, रेडियोकर्मीको भविष्य, आर्थिक अवस्थाको बारेमा जानकारी दिनुभयाे । रेडियाेका कार्यकारी निर्देशक गुणाकर अर्यालले रेडियोले पत्रकार सम्मेलनबाट आएका सुझाव, आजीवन सदस्यहरुबाट आएका सुझावका आधारमा कार्यक्रमहरु तय गर्ने बताउनुभयाे ।

 

 

रजत जयन्तीको अवसरमा लोकतान्त्रिक संस्कार निर्माणमा सञ्चारको भुमिका बहस, समाजबाट पछाडि परेका असहाय, गरिव दुःखीलाई निःशुल्क भोजनदान, नेपाली समाजको सभ्यता संस्कृतिको बारेमा बहस, लोकवाजा तथा लोकधुनको रेडियोबाट रेकडिङ्ग, जीवन्तसम्म अभिलेख राख्ने र प्रत्यक्ष प्रशारणमार्फत जनमासमा सुनाउने, पुनर्मिलन कार्यक्रम, रक्तदाताहरूको नाम लिष्ट तयार पार्ने, स्थानीय पालिकाहरूबीच बहस सञ्चालन गर्ने बताइएकाे छ ।

 

 

यस्तै, रेडियोका अहिलेसम्मका फोटो तथा भिडियोहरू सार्वजनिक गर्ने, बोली पत्रिका र भित्ते पात्रो सार्वजनिक गर्ने जस्ता कार्यक्रमहरूको नमुना तयार पारिएको अध्यक्ष जिसीले जानकारी दिनुभयाे । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले रेडियोले गरेका कामहरुको बारेमा चर्चा गर्नुहुँदै सारेमकाे बारेमा हाल क्रियाशिल रहेका पत्रकारहरू जन्माउन महत्वपूर्ण भूमिका रहेकाे बताउनुभयाे । कार्यक्रममा पत्रकारहरू देव पचभैया, यज्ञमूर्ति तिमिल्सिना, किरण कौशल, मिलन विश्वकर्मा, कृष्ण पोखरेललगायतले सुझाव दिनुभयाे । कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षता, सचिव राजेशकुमार अर्यालको स्वागत, रेडियाेकर्मी रिमा सोमैको सञ्चालनमा सम्पन्न भएको हाे ।

 
 
 
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update