Erani Mahal
तानसेन नगरपालिकाको आयोजनामा फागुन १९ देखि तानसेन महोत्सव 

पाल्पा– जिल्लाको टुँडीखेल खेलमैदानमा यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ ।  तानसेन नगरपालिकाको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारा सहित हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागि खर्च गरिने जानकारी दिनुभयो ।

 


पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान गरिएको छ टुँडीखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५ र ४० हजार सेरोफेरोमा आम्दानी गरेको स्मरण गर्दे तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भैसकेको जानकारी दिनुभयो । मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डर मार्फत आब्हान गर्दा बढी रकम दिने समुह वाट सो रकम बुझिसकेको ज्ञवालीको भनाई छ । 

 


पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रर्वद्धनका लागि तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले सघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाडी बढ्न समेत सहयोग मिल्ने मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

 

 


महोत्सवमा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु तथा साना उद्योगको प्रर्वद्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी गरिने जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update