Erani Mahal
तेल्घामा राख्न बनाइएकाे गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र

पाल्पा – तानसेनको गुफाचउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति बजेट अभावले आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो ।

तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्व महानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ । तानसेनको गुफाचउरमा गणेश धाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइएपनि गुफाचउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुंडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो । बजेट अभावका कारण मूर्ति गुफाचउरसम्म लैजान समस्या रहेको छ ।

आठ वर्षअघि तानसेनको टुंडिखेलमा राखेर ४५ दिनसम्म विशेष पूजा गरेर राखिएको थियो । गणेशको मूर्ति ६ टन तौल, १८ फिट उचाई र ८ फिट चौडाईको छ । यो नेपालकै एक आकर्षक र ठूलो मूर्ति रहेको बताइन्छ । मूर्ति स्थापना गरेपछि नेपाल सहित भारतका विभिन्न स्थानबाट हजारौँ धार्मिक पर्यटक भित्रिने अपेक्षाका साथ मूर्ति ल्याइएको थियो ।

तर लामो समयसम्म मूर्ति अलपत्र पर्दा समेत कसैको ध्यान पुग्न सकेको छैन । तेल्घामा टिनको छानो हालेर गणेशको मूर्ति राखेको पाँच वर्ष बितेपछि यसलाई के गर्ने भन्नेबारे कसैलाई चासो नभएको स्थानीय बासिन्दा बताउँछन् । तानसेन–१० का पूर्ववडा अध्यक्ष लोचन तिमिल्सिनाले आर्थिक अभावमा मूर्ति गुफाचउरमा स्थापना गर्न नसकेको बताउनुभयो । गुफाचउरमा मूर्ति स्थापनाका लागि बनाइएको समितिका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएपछि मूर्ति स्थापित गर्ने काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

गुफाचउर तानसेन–१० कै एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले मूर्ति स्थापना गर्ने योजना अघि सारिएपनि त्यसले सार्थकता पाउन सकेको छैन ।

 
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update