Erani Mahal
रामपुरमा ६७ औँ राष्ट्रिय सहकारी दिवस अन्तरक्रिया गरी मनाईयो

पाल्पा - सहकारी सम्बन्धि अन्तरक्रिया तथा सचेतना कार्यक्रम रामपुर नगरपालिकामा मंगलबार सम्पन्न भएको छ । सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औ राष्ट्रिय सहकारी दिवस मनाएको हो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय सहकारी प्रति जनताको विश्वास कम हुँदै गएकाले सुधार्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरु सहकारीको मर्म र भावना अनुसार चल्न नसक्दा सहकारीमा विकृति सिर्जना भएको भन्दै यसका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिनु पर्ने बताउनु भएको छ ।

 

 

साथै नगर प्रमुख थापाले नगरपालिका भित्रका सहकारी संस्थाको प्रवर्द्धन र विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले एउटै उद्देश्य रहेका सहकारीहरु मर्ज गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाले गरेका लगानी उठाउनका लागि कानुनको दायरामा ल्याउन आवश्यक सहयोग गर्ने बताउनु भएको छ । पछिल्लो समय सहकारी प्रति नकारात्मक धारणा र सन्देश आएको भन्दै यसलाई चिर्न आवश्यक रहेको औँल्याउनुभयो।

 

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सहकारी संस्थाको सही व्यवस्थापन र सञ्चालनका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिन आग्रह गर्नु भएको छ । साथै उहाँले हरेक सहकारीले लगानी गर्दा सही क्षेत्र र व्यक्तीलाई लगानी गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले अन्य देशमा सहकारीको माध्यमबाट विकासले फड्को मारे पनि नेपालमा सोँचे अनुरुप विकास हुन नसकेको उल्लेख गर्नुभयो ।

 

सहकारी गरिव जनताले अपनत्व ग्रहण गर्ने गरी घर घरमा पुग्न नसक्नु दुर्भाग्य भएको भन्दै उहाँले सहकारीलाई सबैको पहुँचमा पुर्याउन आवश्यक रहेको बताउनुभये । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एंव वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले संख्यात्मक रुपमा सहकारी बढी भए पनि गुणात्मक रुपमा सुधार्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले नगरपालिका भित्रका हरेक सहकारीलाई पुँजीको सही परिचालन गर्न आग्रह समेत गर्नुभयो ।

 

नगरपालिका भित्रका सहकारी संस्थाका सञ्चालक समितितका अध्यक्ष ,सचिव, र लेखा समितिका संयोजक गररी ७५ जनाको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा रामपुर नगरपालिकाका रोजगार शाखा प्रमुख तथा सहकारी शाखाका संयोजक गणेश प्रसाद रेग्मीले सहकारीको इतिहास ,नेपालमा सहकारीको वर्तमान अवस्था, सहकारी सचेतना लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागिले नगरपालिका भित्रका सहकारीको नियमन गर्नु पर्ने ,सहकारी संस्थाहरुको विकास र कार्यक्रम संचालनका लागि बजेटको व्यवस्था गर्नु पर्ने लगाएतका माग राखेका थिए ।

 

रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको संचालनमा सम्पन्न भएको हो ।

 
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update