Erani Mahal
एमाले पाल्पाको अध्यक्षमा पोखरेलको चर्चा ! 

पाल्पा – नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा को आउने भन्ने चर्चा परिचर्चा सुरु हुन थालेको छ । जिल्ला अधिवेशन नजिकिएसँगै एमालेबाट अध्यक्षको उम्मेद्वार को बन्ने भन्ने चर्चा सुरु भएको छ भने सबैले आफूनो तहमा छलफल चलाउन सुरु गरेका छन् । एमालेमा पछिल्लो समय जिल्लामा युवाको नेतृत्व आउनुपर्ने चर्चा चलेको छ । अन्य पाटीमा समेत युवा नेतृत्व आएको अवस्थामा एमालेले दोस्रो पुस्ताको युवालाई नेतृत्वमा ल्याउनुपर्ने आम पाल्पाली नेता कार्यकर्ताको चाहना रहेको छ । एमाले पाल्पाको यहि जेठ ११ र १२ गते १० औं जिल्ला अधिवेशन हुँदैछ । 

 


निर्वाचनको समयमा फिल्डमा खट्ने, युवाको मन जित्ने र विकासप्रेमी नेता भएकाले समेत सबैभन्दा बलियो सम्भावना भोजराज पोखरेल (रामजी) को रहेको कार्यकर्ताहरुले बताउने गरेका छन् । युवा विद्यार्थी राजनीतिबाट आएका नेतृत्व र संगठन निर्माणमा खरो उत्रिने भएका कारण समेत रामजी पोखरेल अध्यक्ष बन्नुपर्ने तर्क कार्यकर्ताहरुको रहेको छ । यस्तै एमाले नेतृत्वमा पोखरेलसँगै ओमबहादुर घर्ती, नारायण बहादुर जिसी, पूर्व अध्यक्ष देवीप्रसाद बस्याल, नारायण आचार्य, टंकनाथ खनाल लगायतको चर्चा रहेको छ । अहिले पूर्व र पाका भन्दा पनि कार्यकर्ताले युवा खोजेकाले युवाको नेतृत्व नै हुन सक्ने एक नेताले रानीमहललाई बताउनुभयो । 

 

 


अहिले राजनीतिमा युवा आउँदा विकास र संगठनमा समेत सकारात्मक प्रभाव पार्ने र अन्य दलबाट समेत युवाहरुको आर्कषण थप हुने एमाले पाल्पाको सचिव समेत रहनुभएका नेता पोखरेलले बताउनुभयो । उहाँले अहिलेसम्म औपचारिक छलफल अध्यक्ष यहि हुने भन्ने नभएपनि आमपाल्पाली नेता कार्यकर्ताकाे साथ सहयोग भएमा आफू अध्यक्ष भएर जिल्लाको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

 


उहाँले पार्टी विभाजनको समयमा समेत आफूले पार्टीका नेताकार्यकर्तालाई विचल्ली हुन नदिएर पाल्पामा पार्टीलाई एक ढिक्का बनाउन सफल भएको बताउनुभयो । उहाँले आफू अध्यक्ष भएमा सबैलाई मिलाएर लैजाने समेत बताउनुभयो । 

 


रैनादेवी छहरामा जन्मिएका पोखरेल अहिलेका पार्टी सचिव समेत हुनुहुन्छ । उहाँ पार्टी अध्यक्ष भएमा पार्टीमा कार्यकर्ताको मनोभावना बुझ्ने र आत्मबल बढेर आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत पार्टीलाई अव्वल बनाउन सहज हुने एमाले नेता कार्यकर्ताको बुझाई रहेको छ । 

 


यद्यपी निर्वाचन आउन केही समय बाँकी रहेकोले निर्वाचन हुने वा सहमतिमै नेतृत्व ढुंगिने भने पार्टीको अधिवेशन मै थाहा हुनेछ ।  एमाले केन्द्रबाट नै जनप्रतिनिधिहरु पार्टीको पदाधिकारी हुन नमिल्ने निर्णय गरेका कारण भने केही जनप्रतिनिधिहरु पार्टी नेतृत्वमा आउन नमिल्न हुनसक्ने एमालेका एक नेताले रानीमहललाई बताउनुभयो । 

 
 
 
 
 
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update