Erani Mahal
सिद्धार्थ माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश 

पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं. ७ रहवास चिर्तुङ्गमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम सम्पन्न भएको छ । 
सप्ताहव्यापी कार्यक्रम सहित विद्यालयको वार्षिकोत्सव कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले विद्यालयले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने खालको कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक, भौतिक विकाससँगै विद्यालयको समग्र पक्षको विकासमा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 
गाउँमा रहेको विद्यालयले शिक्षासँगै सामाजिक रुपान्तरणको काममा समेत योगदान दिनुपर्ने बताउनुभयो । विद्यार्थीहरूको सिकाइ सबल र अर्थपूर्ण बनाउदै सिकाइलाई विद्यार्थीको समग्र बिकासमा केन्द्रित गरेर मात्र शैक्षिक गूणस्तर अभिवृद्धि हुने" विचार व्यक्त गर्नुभयो । विशिष्ट अतिथि माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमारी लुङ्चेले माथागढी गाउँपालिकाले शैक्षिक विकासमा विभिन्न योजनाहरु अघि सारेको बताउनुभयो । उहाँले गाउँपालिकाले शैक्षिक अभिभावकत्व लिदैं बालबालिकालाई शिक्षाप्रति उत्प्रेरणा प्रदान गरेको बताउनुभयो । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सबैपक्ष लाग्नुपर्ने बताउनुभयो । शिक्षा शाखाका संयोजक प्रेम बहादुर बारघरेले विद्यालयमा शैक्षिक विकासमा गाउँपालिकाले विभिन्न तालिम र बजेटहरु विनियोजन गरेको बताउनुभयो । 
वडा नं. ७ का वडा अध्यक्ष जंग बहादुर दर्लामी, शिक्षक अभिभावक संघका अध्यक्ष मुन प्रकास राना, महेन्द्र नरेश माध्यमिक विद्यालयका प्रअ छविन्द्रलाल विक, किसान माध्यमिक विद्यालयका शिक्षक गजेन्द्र पन्थीले सिद्धार्थ माध्यमिक विद्यालयको इतिहास राम्रो भएको र विद्यालयले विभिन्न तहमा पुग्ने शैक्षिक जनशक्ति विकास गरेकोले आगामि दिनमा समेत सफलता प्राप्तीको लागि शुभकामना दिनुभयो । 
विद्यालयका प्रधानाध्यापक दिलबहादुर थापाले विद्यालयको शैक्षिक, भौतिक, वित्तिय प्रगति सहितको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । उहाँले विद्यालयले समग्र पक्षको राय सुझाव सहित आगामि दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने खालको विशेष योजना निर्माणमा लागेको बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक प्रेमप्रसाद थापाले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । यस्तै अन्तरसदनात्मक रुपमा नृत्य समेत प्रस्तुत भएको थियो । यस्तै विद्यालयमा अध्ययन गर्ने जेहन्दार छात्रछात्राहरुलाई एनिस टेक्सटायल सेन्टर तानसेनका प्रोपराईटर रामकुमार महतोले १० सेट पोशाक समेत प्रदान गर्नुभएको थियो । 

 
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update