Erani Mahal
तानसेनमा पानीको समस्या छैन : उपभोक्ता समिति

पाल्पा – तानसेन खानेपानी उपभोक्ता समितिले पाँच महिनामा गरेको उपलब्धी सार्वजनिक गरेको छ । पाँच महिनाको अबधिमा खानेपानी वितरण प्रणालीमा व्यापक सुधार गरेको समितिको ठहर छ । समितिले हाल दैनिक १९ लाख लिटर खानेपानी तानसेनमा वितरण गर्दै आएको जनाएको छ । बुधबार तानसेनमा पत्रकार भेटघाटको आयोजना गरी समितिले हाल २४ लाख लिटर खानेपानीको माग रहेकोमा १९ लाख लिटर पानी दिन बिराएर वितरण गरिएको जनाएको छ । रिजर्भ ट्यांकी नहुँदा दैनिक पानी वितरणमा समस्या परेको समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो ।

३० लाख लिटर अट्ने रिजर्भ ट्याङ्की भएको खण्डमा दैनिक पानी वितरण गरिने उहाँले बताउनुभयो । रिजर्ब ट्याङ्की नहुँदा रातकाे समयमा पनि पानी दिन बाध्य भएकाे समितिले जनाएकाे छ । ट्याङ्की बनेपछि उपयुक्त समयमा मात्र पानी वितरण हुने समितिकाे भनाइ छ ।
अध्यक्ष श्रेष्ठले पछिल्लो पाँच महिनामा भएको आम्दानी तथा खर्च समेत सार्वजनिक गर्नुभयो । उहाँका अनुसार पछिल्लो पाँच महिनामा समितिले कर्मचारी तलबभत्ता, मर्मतसुधार, विद्युत् महशुलको खर्च कटाएर २६ लाख बढी बचत गरेको जानकारी दिनुभयो । विगतमा मासिक ८÷१० लाख घाटामा गएको संस्था अहिले विस्तारै आर्थिक रुपमा सुदृढ हुँदै गएको अध्यक्ष श्रेष्ठको भनाई छ । 
केही मानिसले नयाँ समिति आएपछि पुरानो मौज्दात पैसा खर्च गरेर सिध्याउँछन् भन्ने गरेका थिए, तर हामीले पुरानो एक रुपियाँ पनि खर्च गरेका छैनौँ, समितिले प्रभावकारी काम गरेपछि नियमित खर्चमा समस्या नभएको, अध्यक्ष श्रेष्ठको भनाई छ । IMG_0235-1716996304.jpg

समितिले नगरपालिकाबाट घर बनाउनका लागि नक्सा पास हुने वित्तिकै धारा जडान गर्ने निर्णय गरेर कार्यान्वयनमा लगेको जनाएको छ । अब कुनै पनि उपभोक्ताले धारा नपाएको भन्ने गुनासो गर्न पर्दैन, समितिका उपाध्यक्ष लालमने अधैपुनले भन्नुभयो नगरपालिकाबाट घरनक्सा पास गर्ने बित्तिकै धारा जडान हुन्छ । नयाँ समिति आएपछि पम्पहरुको मर्मतसुधार, नयाँ पाइपलाइन बिस्तार, वितरण प्रणाली सुधारको काम गरेको समितिका सचिव प्रेम मल्लले बताउनुभयो । 
पछिल्लो समय भुल्के, सिस्नेलगायतका पुराना मुलबाट पनि पानी आउने प्रणालीलाई सुधार गरेको उहाँले बताउनुभयो । कालीगण्डकी आयोजनाबाट फूल फेजमा पानी आउने अवस्था रहेपनि अहिले रिजर्ब ट्यांकीका कारण १२ घण्टामात्र पानी पम्पिङ् गरिएको समितिले जनाएको छ । समितिले अब ग्राहकले इपेमेन्ट गर्न सक्ने जनाएको छ । 
समितिले आगामी दिनमा कर्मचारीको विगतदेखिको न्युन तलबलाई समायोजन गर्ने, विपन्न नागरिकका लागि सहुलियत दरमा पानी वितरण गर्ने योजना अघि सारेको छ । यस्तै नयाँ ट्याङकी बनाउने, पानी चुहावट रोक्ने योजना रहेको जनाएको छ । समितिका पदाधिकारीहरुले तानसेनबासीका लागि कसरी पानी खुवाउन सकिन्छ भनेर आफूहरु दिनरात खटेको जनाएका छन् । अहिले पनि आफूहरुको केही कमीकमजोरी भए सुधार गरेर अघि बढ्न तयार रहेको समितिका अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । उहाँले पानी व्यवस्थापनमा सहयोग गर्ने राजनैतिक दल, नगरपालिका, जनप्रतिनिधि, तानसेनबासी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update