Erani Mahal
निस्दीको १२ औं अधिवेशन सम्पन्न
ddd (2)
पाल्पा - निस्दी गाउँपालिका गाउँसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बसेको अधिवेशनले आर्थिक वर्ष २०७९ / ०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभाको उद्घाटन प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले गर्नुभएको हो । सभामा बोल्नुहुँदै सांसद आचार्यले पालिकालाई आफै कानुन बनाउने अधिकार भएकोले कुनैपनि योजना तथा कार्यान्वयनको लागि समस्या नहुने बताउनुभएको छ । सांसद आचार्यले गाउँपालिका अध्यक्ष जनताबाट प्रत्यक्ष निर्वाचित भएकोले सम्पुर्ण कार्यकारी अधिकार प्राप्त हुने बताउनुभएको छ । साथै उहाँले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको तस्तै रहेको बताउनुहुँदै सम्पुर्ण जनप्रतिनिधिलाई जिम्मेवार ढंगले प्रस्तुत हुन अनुरोध गर्नुभएको छ । सांसद आचार्यले नेपालमा सबैभन्दा समयमा काम हुन नसकेको क्षेत्र ठेक्का प्रणाली भएकोले भौतिक पूर्वाधारको विकासतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षा र स्वास्थ्य आधारभूत आवश्यकता रहेकोले यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुहँदै निस्दी धेरै सम्भावना बोकेको क्षेत्र रहेकोले आन्तरिक पर्यटन , कृषि , पशुपालनबाट धेरै आम्दानी लिन सकिने बताउनुभएको छ । उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले चालु आर्थिक वर्षको स्वीकृत योजना तथा रकमान्तर सहितको कार्यक्रम एवं वास्तविक आयव्यय प्रस्तुत गर्नुभएको हो । निस्दीमा हालसम्म १४ दशमलव ६१ प्रतिशत खर्च भएकोमा पुँजीगत खर्च ५ दशमलव ३७ प्रतिशत मात्र भएको उपाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेकोे छ । १२ औं अधिवेशनले शिक्षा , स्वास्थ्य , खानेपानी , पर्यटन , बिजुली , कृषि जस्ता विषयमा प्राथमिकता पाएको छ । साथै गाउँसभाले संस्था दर्ता विधेयक - २०७९ पास गरेको छ । गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट शिक्षक , प्रधानाध्यापक , उपभोक्ता समुह , सहकारी संस्था , कर्मचारी , पत्रकार परेका छन । सम्मानित सबैलाई सम्मान पत्र , नगद , मायाको चिनो र दोसल्लाले सम्मान गरेको हो । प्रवक्ता मेख बहादुर सुनारीको स्वागत मन्तव्य सँगै भएको सभामा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल , योजना अधिकृत अर्जुन खनाल , गल्धाका वडा अध्यक्ष दुर्गा बहादुर सोमै , झिरुबासका वडा अध्यक्ष नविन्द्र थापा सोती , कार्यपालिका सदस्य हेम कुमारी सुनारी , रिकुलाल विक , पत्रकार होम राई मगर लगायतले सभाको विशेष अवसरमा बोल्नुभएको थियोे ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update