Erani Mahal
निस्दीमा जस्ता प्रयाेग बढ्दा परम्परागत कुँडुले घर लोप हुँदै
Kudule Ghar
पाल्पा - गाउँ घरमा हुने गोलो आकारको कुडुले घरले सबैको मन लोभ्याउने गरिन्छ । ढुंगा र माटोको गारोसँगै , खरले छाएको , रातो माटोले लिपपोत गरि चिटिक्क परेको कुडुले घरले साच्चिकै धेरैलाई मोहित पर्ने गर्दछ । जहाँ मगर बस्ती छ , त्यहाँ कुडुले घर भेटिन्छ । कुडुले घर मगर जातिको सांस्कृतिक पहिचानसँग जोडिएको पाइन्छ । विशेषगरी जाडो मौसम र चिसो हावापानी भएको ठाउँमा कुडुले घरको अति उपयुक्त हुने देखिन्छ । तर निस्दी गाउँपालिका पाल्पामा भने पछिल्लो समय पुरानो संस्कृति महत्त्व बोकेको कुडुले घर बिस्तारै लोप हुँदै गएको छ । बढदो शहरीकरणसँगै आधुनिकताको नाममा हाम्रा पुर्खाहरुको पुरानो संस्कृति र परम्परा हराउँदै गएको छ । के गाउँ के शहर सबैतिर आधुनिक जमानाले धपक्क ढाकेको देखिन्छ । यि र यस्ता थुप्रै मौलिक संस्कृतिहरु लोप भएका छन । त्यसो त निस्दी मगर जातिको बाहुल्यता रहेको गाउँपालिका हो । यहाँको मगर समुदाय भित्र कहीँ न कतै कुडुले घर आज पनि भेटिन्छ । तर सबै पुराना र जीर्ण अवस्थामा रहेको मात्रै देखिन्छ । ति सबै कुडुले घर हाम्रा पुराना बुढापाकाहरुले बनाएका हुन । अहिले हामीसँग जतिपनि पुराना कला र संस्कृति छन , ति सबै पुर्खाहरुको देन र हाम्रा सम्पत्ति हुन । यस्ता मौलिक रहनसहन , कला संस्कृति र परम्परा पुस्तान्तरण हुन सकेको छैन । निस्दी - ३ , झिरुबासको खादरमा भने अहिले पनि केहि कुडुले घरहरु देख्न पाइन्छ । यहाँको कुडुले घर देखेर बाहिरबाट आउने आन्तरिक पर्यटकहरू आश्चर्य मान्ने गरिन्छ । खादरको कुडुले घरले साच्चिकै सबैको मन लोभ्याउने गरेको देखिन्छ । यसले निस्दीमा आन्तरिक पर्यटकलाई भित्र्याउन टेवा पुर्याएको छ । त्यसो त खादर रेडवर्नको पालादेखि नै चर्चामा आएको गाउँ हो । यहाँ बाह्रै महिना जाँडो हुने गर्दछ । सितिमिति गर्मीको महसुस गर्न पाइदैन । पहिले खादरमा प्रायःजसो सबैको कुडुले घर मात्रै थिए , अहिले आएर ति घरहरू विस्थापित भएको स्थानीय ओमलाल थापा बताउनुहुन्छ । अहिले त्यस्तै आठ दश वटा कुडुले घर रहेको र त्यो पनि विस्तारै हटाउनु पर्ने बाध्यता रहेको थापाको भनाइ छ । गाउँपालिकाको सुरक्षित नागरिक आवास कार्यक्रम तथा खर रहित छानामुक्त अभियान सफल पर्नको लागि पनि कुडुले घर हटाउन बाध्य भएको स्थानीयहरु बताउछन । कुडुले घर देख्दा सानो भएपनि अहिलेको आधुनिक घरमा भन्दा धेरै समान अटाउने दिल बहादुर ढेंगाको भनाइ छ । यहाँको कुडुले घर देखेर बाहिरका मान्छेहरुले अचम्म मान्दै फोटो खिचेर लाने गरेको तिलाराम गाहाले बताउनुभएको छ । कुडुले घर ढुंगा र माटोको गारो लगाएर बनाउने गरिन्छ । छानो खरले छाउने गर्दछ । एकपल्ट छाएपछि चार पाँच वर्षसम्म छाउनु पर्दैन । हिजोआज खरबारीको समस्यासंगै ढुंगामाटोको गारोले दिगोपन नहुने भएकोले , पुरानै शैलीमा इट्ट र सिमेन्टको गारो लगाइ कर्कटपाताले छाएर कुडुले घरको संरक्षण गर्न सकिने झिरुबासका वडा अध्यक्ष नविन्द्र थापा सोतीले बताउनुभएको छ । अहिले पनि निस्दीको सातै वडामा यस्तो प्रकृतिको घर रहेको पाइन्छ । कुडुले घरले ऐतिहासिक , पुरातात्त्विक , संस्कृतिसँगै जातीय पहिचान झल्काउने गर्दछ । निस्दी - ६ , अर्चलेका वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले कुडुले घरको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहने भन्नुहुँदै आगामी दिनमा पालिका विशेष योजनाका साथ अगाडि बढने बताउनुभएको छ । निस्दी गाउँपालिका आन्तरिक पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र हो । यहाँको मौलिक संस्कृतिलाई जोगाउन आगामी वर्षहरुमा पालिकाले महत्त्वपूर्ण र समयानुकूल कार्यक्रम ल्याइने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनु भएको छ । कुडुले घर पुरानो संस्कृति झल्काउने , वातावरण मैत्री जाडो ठाउँमा स्वास्थ्यको दृष्टिले पनि उपयुक्त रहेकोले यसको संरक्षण गर्न नितान्त आवस्यक रहेको दयालको भनाइ छ । त्यसो त निस्दीले विगतका वर्षहरूमा कुडुले घर संरक्षणको लागि कार्यक्रमहरु नल्याएको चाहिँ होइन । प्रत्येक वडामा यस्ता घरको पहिचान गरि छाना फेर्न भनेर रकम समेत सहयोग गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । अब पनि कुडुले घरलाई जोगाइराख्न पालिका सम्बन्धित घरधनीसँग बसेर योजना तथा कार्यक्रम ल्याइने अध्यक्ष सारुको भनाइ छ । साथै अध्यक्ष सारुले निस्दी गाउँपालिका प्रचारमुखी भन्दापनि व्यवहारमुखी र सकारात्मक प्रभाव पर्ने खालको कार्यक्रमका साथ अगाडि बढने बताउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update