Erani Mahal
खुमेल गाउँदेखि लुम्बिनी प्रदेशको सभामुखसम्म तुलाराम घर्ती बसन्त
basanta gharti
पाल्पा– विकास र निर्माणमा पछाडि पारिएको दुर्गम रोल्पा जिल्लाको तत्कालिन खुमेल गाविसमा आमा अम्मुदेवी घर्तीमगर र बाबा चित्रमान घर्तीमगरको कोखबाट एक मात्र सुपुत्र रुपमा तुलाराम घर्तीमगरको जन्म २०२५ साल साउन १५ गते भएको थियो । घर्ती आफ्नो किशोर अवस्था देखि न्याय र सत्यका पक्षमा प्रति प्रतिबद्ध र अन्याय अत्याचारका विरूद्ध आगोका फिलंगो ओकल्ने स्वभावका हुनुहुन्थ्यो । गरिबी र अभावका कारण २०४२ सालमा सहज जीवनवृत्तिका लागि उनको परिवार कपिलवस्तुको शिवगढी गाविसमा बसाइ सरेको थियो । २०४४ सालमा एसएलसी पास गरेपछि तत्कालिन अनेरास्ववियूको विद्यार्थीसंगठनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । २०४५ सालदेखि ५० सम्म शिवगढी प्रावि विजगढीको संस्थापक प्रअ, २०४६ सालदेखि बाम राजनीतिक आन्दोलनमा सक्रिय रहनु भएको । २०४८ साल असोज ३० गते शिवगढी गाविसको तुरुन्तपुरमा काँग्रेसी गुण्डासँगको भिडन्तमा गम्भिर घाइते सहित तत्कालिन गिरीजा सरकारले ज्यानमार्ने उद्योगको मिथ्या मुद्धा लगाउँदा अर्धभूमित हुन पर्यो, २०४७ सालदेखि साइनिंग सांस्कृतिक परिवार शिवगढीको सचिव, शिक्षक संगठनमा आवद्धता, २०५० सालमा काँग्रेस सरकारबाट सार्वजनिक अपराजको मुद्धा फेरी अर्धभूमिगत, नेकपा मशालको २०४७ देखि पार्टी सदस्य, २०४८ सालमा एरिया कमिटि सदस्य हुँदै भूमिगत भई प्रवासमा रहेको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य, जनवादी गणतन्त्र नेपालको स्थापना र समाजवादको कार्यान्वयन नै हो भन्ने ठहर गरी देशमा चलिरहेको माओवादी जनयुद्धमा सुरुदेखि नै संगठित भई क्रियाशील हुन पुग्नुभयो तुलाराम । उहाँकाे जनयुद्धकाे नाम क. बसन्त हाे त्यहि नाम नै अहिलेसम्म चर्चित रहेकाे छ । खास नाम तुलाराम भएपनि उहाँलाइ धेरैले क. बसन्त भनेर नै चिन्ने गर्दछन् । उहाँको श्रीमती जानुका घर्ती र आफू १० वर्ष भूमिगत जीवन बिताउनुभयो । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै नेपाली जनताले सुख शान्ति पाउने छन् भन्ने वृहत स्वार्थले अभिप्रेरित भई आन्दोलनमा होमिएका घर्ती मगरले पटकपटक ज्यानलाई जोखिममा राखेर जनतको पक्षमा काम गर्नुभयो । उहाँ नेकपा माओवादी केन्द्रको भूमिगतकाल देखिनै राजनीतिमा सक्रिय रही हाल बाम गठबन्धन पाल्पाको तर्फबाट प्रदेश सभा क्षेत्र नं. २ (२) को प्रदेशसभा सदस्यका रुपमा पुनः पाँच वर्षे कार्यकालको लागि निर्वाचित हुनुभएको थियो । उहाँ अहिले सत्तारुढ दल नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभाको सभामुखमा निर्वाविरोध निर्वाचित हुनुभएको छ । उहाँको श्रीमती, २ छोरी र एक छोरा रहनुभएको छ । रोल्पाबाट कपिलवस्तु शिवगढीमा झरे पनि २०६८ सालदेखि तिनाउ गाउँपालिका–३, दोभान पाल्पालाई आफ्नो स्थायी बसोबास स्थल बनाउनु भएका घर्तीले पाल्पा जिल्लाका बस्तीबस्तीमा पुगेर आफ्नो बोली र व्यवहारले मन जित्नु भएको छ, घर्ती पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पाल्पा जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र तिनाउँ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सडक, पूर्वाधार, आयआर्जन लगायतका क्षेत्रमा करोडौंको रकम प्रदेशबाट विनियोजन गरेर विकासशील नेताको रुपमा समेत छवि बनाउन सफल हुनुभएको छ । जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रा घर्ती लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्ती(बसन्त) माओवादी जनयुद्धका कमाण्डर समेत हुनुहुन्छ । घर्ती २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाईसरी आउनुभएको थियो । त्यसपछि २०६८ सालदेखि उहाँको परिवार त्यँहाबाट पनि बसाइ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आउनुभएको छ । सानैदेखि राजनीतिमा रुचि राख्ने घर्ति २०४७ सालमा नेकपा मशासलबाट औपचारिक रुपमा राजनीति सुरु गर्नुभयो । घर्ति २०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव हुनुभयो । २०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ति २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भए । २०५३ सालको माघमा भुमिगत बनेका घर्ति २०६२ सालसम्म भूमिगत अवस्थामा नै रहनुभयो । २०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ति २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष समेत हुनुभयो । यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पाल्पा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे । साथै २०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ति २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । २०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रिय महासचिब भएका घर्ति २०७० सालमा मगर संघको केन्द्रिय उपाध्यक्ष बने । २०७० सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(ख) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित हुनुभयो । घर्ती २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रिय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ती नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेत बन्ने अवसर पाउनुभयो । यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ती पोलिटव्युरो सदस्यमा चयन हुनुभयो । घर्ती पाल्पा जिल्लाको माओवादी इन्चार्ज समेत हुनुहुन्छ । यस्तै २०७९ सालमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ती पुनः पाल्पा २ (ख) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचत हुनुभयो । सत्तागठबन्धनको भागबन्डा अनुसार लुम्बिनी प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति भएको थियो । सभामुखमा माओवादीका तुलाराम घर्तीको उम्मेदवारी परेपछी उहाँ निर्विरोध रुपमा निर्वाचित हुनुभएको छ । आइएसम्म अध्ययन गरेका सभामुख घर्ती माक्सवादी राजनीतिका प्रखर वक्ता, कशुल लेखक, अध्येता र राजनीतिक वैचारिक स्कुलिङ्गका प्रखर वक्ताका रुपमा समेत रहनुभएको छ । घर्ती मगर माक्सवादी दर्शन, नेपाली अर्थराजनीति, नेपालको आदिवासी जनजाति, वर्णविन्यास, राजनीतिक घटनाक्रमका सन्दर्भमा दर्जनौं लेखहरु समेत लेख्नुभएको छ, उहाँ मिति २०७९। माघ ३ गते लुम्बिनी प्रदेशको सभामुखको लागि सत्तारुढ दल र प्रतिपक्षबाट समेत उम्मेद्वारी नभएपछि एकल उम्मेद्वारी परेको छ, उहाँको आज संसदीय प्रक्रियाबाट सभामुख घोषणा हुनुहुनेछ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update