Erani Mahal
निस्दीको एकीकृत घुम्ती सेवा : नागरिकद्वारा ठुलो राहत महसुस
328246855_854504585836298_3615843027270032006_n
पाल्पा - निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । पालिकाको टिम वडामै पुगेर सेवा दिएको हो । ' जहाँ नागरिक त्यहाँ सेवा ' भन्ने मान्यताका साथ पालिकाले एकीकृत घुम्ती सेवामार्फत प्रत्येक वडामा पुगेर नागरिकलाई सेवा दिएको हो । निस्दीले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई सोही ठाउँबाट समाधान गरेको छ । घुम्ती सेवाबाट यहाँका नागरिकले ठुलो राहतको महसुस गरेका छन । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रसम्म पुग्न नागरिकलाई झन्झटिलो हुनुका साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयाे । शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखिकरण, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङ्गताको परिचय पत्र वितरण, ब्यवसाय दर्ता, औषधी वितरण, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरेको छ । घुम्ती सेवा माघ ११ देखि १७ गतेसम्म सञ्चालन गरेको हो । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवाका लागि केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्नका साथै नागरिकलाई सेवा प्रदानमा सहज बनाउन अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले बताउनुभयाे । गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी ७ वटै वडामा पुगेर पालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा शिविरबाटै उपलब्ध गराएको दयालले बताउनुभयाे । गाडीमा यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउन नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस भनेर शिविर सञ्चालन गरिएको उनको भनाई छ । घुम्ती सेवाबाट ७९ वटा योजनाको सम्झौता हुनुका साथै ८ वटा योजनाको फरफारक भएको योजना अधिकृत अर्जुन खनालले बताए । शिविरमा ३ सय १६ परिवारलाई गरिब घर परिवार परिचयपत्र वितरण, ४६ जनालाई अपाङ्गताको परिचयपत्र वितरण र ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएको छ । खनालका अनुसार ७५ वर्ष माथिका ४ सय ९५ जना जेष्ठ नागरिकलाई सम्मान, २ सय ९ जनालाई आयुवेर्दिक औषधि वितरण तथा स्वास्थ्य परीक्षण, २ हजार २ सय ६० वटा पशुलाई औषधि वितरण गरेको छ । शिविरमा आयोजना सञ्चालन सम्बन्धि अभिमुखिकरण, माटो परिक्षण नमुना संकलन अभिमुखिकरण, पञ्जीकरण, मालपोट संकलन लगायत विभिन्न सिफारिस समेत भएको थियोे । शिविरमा ३० लाख पेश्की रकम भुक्तानी गरेको लेखा अधिकृत सरोज काफ्लेले बताउनुभयाे । शिविरमा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुुव दयाल सहित विभिन्न शाखाका प्रमुखहरु सेवा प्रवाहमा खटिएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update