Erani Mahal
प्रेम, अध्यात्म र पर्यटनको जीवन्त त्रिवेणी रानीमहल
1-F
डा. दामोदर रेग्मी प्राकृतिक सुन्दरता र छटाले समृध्द पाल्पा प्रकृतिले सजिएको सुन्दर बगैचा हो । प्रकृतिले दिनुपर्ने सबै सुन्दरताले भरिपूर्ण छ पाल्पा । यो पूर्णताको विभिन्न विम्वहरुमध्ये एउटा विम्व रानीमहल हो । यसको चर्चा अहिले पाल्पामा मात्र होइन देशभित्र र वाहिर समेत हुने गरेको छ । यो पाल्पा जिल्लाको पहिचानको अर्को एक पर्याय बन्न सफल भएको छ । यसको वारेमा सुन्ने सवैले एकपटक रानीमहल घुम्ने चाहना राख्ने गर्दछन् । यसको अतिरिक्त जव जव प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे आउने गर्दछ तव रानीमहल चर्चाको शिखरमा पुग्ने गर्दछ । यसै क्रममा यस पटकको प्रणय दिवसमा रानीमहलमा पुग्ने जोडीलाई सम्मान गरिने भएको छ । ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापित (ब्राण्डिङ्) गर्न तानसेन नगरपालिकाले त्यहाँ पुग्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम बनाएको हो । रानीमहलको महत्वलाई स्वदेश र विदेशमा स्थापित गर्न जोडी सम्मान, जोडीबाट सिक्का दान, गुलावका गुच्छा साटासाट, सांस्कृतिक कार्यक्रम, क्याम्प फायरलगायतका कार्यक्रमको आयोजना गरिएवाट यसको महत्व थप बढ्न गएको छ । यसको साथै गत वर्ष वाट लेखक समेतको सक्रियतामा रानीमहल विच भलिवलको हवको रुपमा समेत परिचित हुदै गैरहेको छ । यो रानीमहलको अर्को सकारात्मक पक्ष हो । सुरुमा रानीघाटको नामवाट परिचित र अहिले केही वर्ष यता रानीमहलको ख्यातीवाट परिचित रानीमहल निर्माणको पछाडी ऐतिहासिक र कारुणिक प्रेम कथा जोडिएको छ । वीर शमशेरको प्रधानमन्त्रीत्वकालमा खड्ग शमशेरकमाण्डर इन चिफ बने तर अठार महिनापछि उनी पदच्यूत भै निर्वासित जीवनको लागि पाल्पा सरे । यो उनको शासन प्रक्रियावाट अलग रहने तर धार्मिक दिनचर्या विताउने उद्देश्यवाट अभिप्रेरित थियो । तर पछि उनलाई वि.सं. १९४५ मा पश्चिम नेपालको रूपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वतको जिम्मेवारीकासाथ पाल्पाको गौंडामापश्चिम कमाण्डरको जिम्मा दिइयो । सोहीबेला वि.सं. १९४९ मा उनकी रानी तेजकुमारीको कालगतिले मृत्यु भयो । खड्गशमशेरको रानी तेजकुमारीसँग अत्यन्तै प्रेमभाव थियो । अन्तिम समयमा रानी तेजकुमारीले कालीगन्डकीको उत्तरबाहिनी क्षेत्रमा आफ्नो प्राण त्याग गर्ने इच्छा राखेपछि हाल निर्माणभएको रानीमहलको छेउमा प्राण त्याग गरेकी थिइन् । मृत्युको अन्तिम क्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा महल निर्माण गरी स्मृतिलाई ताजै राख्ने वचन दिएका रहेछन् । सोही स्थानमा खड्गशमशरेले रानी तेजकुमारीको सम्झनामा तेजमहल निर्माणगरेका हुन् । उनले बेलायतबाट इन्जिनियर झिकाएर रानीमहल निर्माण गर्न लगाएका थिए भनिन्छ । खड्गशमशेरले वि.सं. १९४९ सालदेखि निर्माण सुरु गरेको रानीमहलदरबार १९५५ सालमा पूरा भएको थियो । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’ का रूपमा लिइने गरिन्छ । उक्त तेजमहल पछि गएर रानीघाट हुदै रानीमहलमा परिणत भएको हो । यसलाई नेपालको ताजमहल पनि भन्ने गरिन्छ । यो रानीमहलको अर्को नयां ब्रान्ड पनि हो । यसै नामबाट रानीमहल अहिले सर्वत्र परिचित छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध तिर्थ मुक्तिनाथ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरुसहितको विभिन्न आकर्षक कलाकृतिहरु रहेका छन्। खड्ग शमशेरले आफ्नी दिवङ्गत रानीको सम्झनामा दरबारको निर्माण गरेतापनि पाँच वर्षसम्म मात्र रानीमहलमा बस्न पाए । विसं १९६० मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएको बताइन्छ । यस अवस्थामा आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सम्पत्ति लिई खड्ग शमशेर भारत पलायन भएपछि प्रेमको प्रतिकको रुपमा निर्मित रानीमहल एक्लो बन्न पुगेको थियो । तत्पश्चात पाल्पा गुल्मी र स्यांगजाको धार्मिक केन्द्रको रुपमा सानो पहिचानमा सीमित रानीघाट अहिले प्रेम, पर्यटन, अध्यात्म र इतिहासको जीवन्त पर्याय बनेको छ । अहिले दिनहुं सैयौ आन्तरिक र बाह्य पर्यटकहरुको प्रसंशा बाट आनन्दित बन्न पुगेको छ रानीमहल । रानीमहलको धार्मिक तथा बहुआयामिक महत्व रहेका छन् । रानीमहलको अगाडी वाट अविरल वगिरहेको कालीगण्डकीनदीको प्राचीन धार्मिक महत्व रहेको छ । कालीगण्डकीका शिला साक्षात नारायण अवतार हुन् यिनको प्राण प्रतिष्ठा गर्नु पर्दैन ल्याएर भक्तिभावका साथ पूजा अर्चना गरेमा कल्याण हुन्छ भन्ने शालिग्राम महात्म्यमा उल्लेख छ । आर्यावर्त भूमिका नदीहरुमा पाइने यस प्रकारको साक्षात देवताकालीगण्डकी नदीमा मात्र पाइन्छ । कृष्णगण्डकी मुक्तिनाथ क्षेत्रवाट कागवेनी रुद्रवेनी गलेश्वर रिडी हुदै रानीघाटमा आएकी हुन् त्यहांवाट राम्दी हुंगी केलादी हुदै देवघाट तर्फ प्रस्थान गरेकी हुन् । यसर्थ रानीघाट एउटा पवित्र तीर्थस्थल हो । बनारसमा भागीरथी गंगा उत्तरतर्फ प्रवाहित भएकी छन् ।यसैले काशी प्रसिध्द तीर्थस्थल भएको छ। काशीमा मृत्यु हुनेको मुक्ति हुन्छ भन्ने शास्त्रीय भनाइ छ । रानीघाटमा पनि कालीगण्डकीको प्रस्रणधार उत्तरतर्फ प्रवाहित भएको छ ।उत्तर फर्केर पूजा आजा गर्नु लाइ शुभ फल प्राप्त हुने विधिको रुपमा बुझिन्छ स्वयं नदी नै उत्तरमुख भएर बगेको स्थानमा धर्म कर्म गर्नु पुराण लगाउनु कल्याणप्रद हुनु स्वभाविकै हो । यसै कारणले उत्तरवाहिनी कालीगण्डकी नदी रानीघाटमा पर्ने कारणले खड्ग शमसेरले यहि पवित्रस्थलमा दरवार वनाउने चाहना पूरा गरेका हुन् । कालीगण्डकी करिडोर का अन्य तीर्थस्थलहरु मुक्तिनाथ र रिडी संग जोडिनु रानीमहलका थप सकारात्मक पक्षहरु हुन् । रानीमहलकै तलबाट सुसाउँदै बग्ने कालीगण्डकीको पवित्र पानीछोए मात्र पवित्र भइन्छ भन्ने भनाइ रहँदैआएको छ । सुरुका दिनहरुमा धार्मिक महत्वका दिनहरुमा नुहाउन जाने रानीघाट अहिले ‘प्रेमको प्रतीक’ रानीमहलको पर्यटकीय महत्वको रुपमा अगाडी बढेको छ । प्रायः प्रेमजोडीको मनजोड्ने रोजाइ स्थलको रूपमा रानीमहल रहेको छ । रानीमहलवाट कालीगन्डकी नदी र पाल्पाको बौघागुम्हा र खानीगाउँ तथा स्याङ्जाको प्राकृतिक मनोहरता को आनन्द अनुभूत गर्न सकिन्छ ।समाजमा प्रणय दिवसको महत्व बढ्दै जाँदा एकान्तस्थलका साथै पाल्पाको रानीमहलको महत्व पनि दिनहुँ बढ्दै गएको छ । प्रेम दिवस वा अन्य कुनै प्रत्येक दिन प्रत्येक दिन सयौं युवा–युवती ‘प्रेमको प्रतीक’ रानीमहल पुगिरहेका छन् । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरलेरानीमहललाई राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्नेपर्यटकहरुको संख्यामा वृद्धि भएको छ। रानीमहल अर्थात रानीघाट कालीगण्डकी करिडोरसँग जोडिएसँगै यसको धार्मिक र पर्यटकीय आयामलाई आर्थिक आयामसंग जोड्न सक्ने संभावना रहेकोछ । रानीमहलको उत्तरवाहिनी कालीगण्डकी नदीको धार्मिक आयामको थप प्रचार प्रसार गरि यसको वाट लाभान्वित हुन चाहनेलाइ यसको वास्तविक महत्वको बोध गराउनु आवश्यक छ । नेपाल सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । रानीमहलले केही वर्ष यता राष्टिय रुपमै पर्यटनको गन्तव्यको रुपमा स्थापित गराएको छ । यसर्थ रानीमहलको विकासमा तानसेन नगरपालिकाको भूमिका प्रभावकारी हुनु आवश्यक छ । रानीमहलको निर्माणकर्ता खड्गशमशेरले लुम्बिनीमा रहेको अशोक स्तम्भ पत्ता लगाएका थिए । त्यसैलेपनि रानीमहल र लुम्बिनीको यो अन्तरसम्बन्ध विकास गरी रानीमहललाई लुम्बिनी सगको संजालमा आबध्द गर्नु आवश्यक छ । रानीमहललाई विच भलिवलको हव र र्याफ्टिंग खेल को क्षेत्रको रुपमा विस्तार गर्नु आवश्यक छ । रानीमहललाई देश र विदेशसंग जोड्न प्रणय दिवसको मूल गन्तव्य, विच भलिवलको हव, पर्यटन सर्किटको एक महत्वपूर्ण विन्दूको रुपमा रुपान्तरण गर्न स्थानीय तह र प्रदेश सरकारको सक्रिय सहभागितको आश्यकता छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update