Erani Mahal
लोक गीत प्रतिको आकर्षण बढी रहेको छ  - हुम गैरे
Hum Gaire
लोक संगीत भित्र आफ्नै मौलिकता छ,महत्व छ । अधिकांश नेपालीको ओठमा झुण्डिने र मनमा बस्न सफल गीत संगीत हो लोक गीत । लोक गीत संगीतमा विभिन्न भाषा, समुदायको आ–आफ्नै स्थान अनुसारको लयमा गाउने गरेको पाइन्छ । जस्तै काँठे भाका, झ्याउरे भाका, देउडा भाका, ठाडो भाका, सालैजो, टप्पा, कडुवा,घाँटु, रोईला तामाङ सेलो आदि गीतहरु नेपाली लोक संस्कृति भित्र पर्ने विधा नै हुन । लोक भाकाहरुका वरिपरि रहेर निर्माण गरिएका अनेक दोहोरी गीतहरु उत्तिकै रुचाइएका पनि छन । लोक दोहोरीको क्षेत्रमा स्कुले जीवनदेखि नै साप्ताहिक कार्यक्रमहरुमा आफूलाई सहभागिता तुल्याउँदै आइरहेका हुम गैरे अहिले नाम नै उनको परिचय बनिसकेको छ । करिब ७ सय भन्दा धेरै गीतमा शब्द तथा भाका रचना गरि सकेका गैरे करिब डेढ सयभन्दा धेरै गीतमा स्वर दिईसकेका छन । लामो समयदेखि चर्चाको एउटै उचाईमा रहन सफल गायक तथा सर्जक गैरेका घिटी घिटी बाँचिराको छु,करुवामा पानी,भेटौला अबश्य,तिम्लाई सम्झिी रुनु रैछ र, बोल्नै पर्दैन,सम्झना छ भन्देउ, फुल खेलेको सिमी, देख्न पाए यो मन भुल्थ्यो की, अझै तिम्रै मायाँ छ किन, ईतिहास,सोल्टीले मलाई आँखा मार्यो नि,ठमेलको चोक,जम्दार बाको छोरी, पुर्व होस या पश्चिमकी,पञ्चेबाजमा नभन के गरम,दुलही रानी,सानु तिमी जाँदै छौ भोली, तिज गीतहरुमा झ्याम पुतली झ्याम,चर्चा धेरै भो,मलाई केटा चाहिएको पैसा वाला हो,लाहुरेको छोरी,सारी सरक्कै,बिरहको तिज साथै पर्व गीतहरुमा दशैं अनि तिहार,दशैं आयो,भाईटिका लगायत दर्जनौ गीतहरु हिट लिष्टमा रहेका छन । नेपाली गीत संगीत बिशुद्ध मौलिक एवं परम्परागत हुनु पर्छ भन्ने मान्यता राख्ने गायक गैरे देश तथा बिदेशका स्रोता दर्शकका अतिरिक्त आफनो समुदायमा समेत लोक प्रिय छन । लोक दोहोरी गीत संगीतमा सक्रिय, विभिन्न अवार्ड, सम्मान र पुरस्कारहरुबाट पुरस्कृत पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नम्बर- ५, गल्धामा जन्मेका चर्चित लोकप्रिय लोक दोहोरी गायक तथा सर्जक हुम गैरेसँग गरेको कुराकानीको सम्पादित अंश । के मा व्यस्त हुनुहुन्छ पछिल्लो समय ? गीत रेकर्डिङ,कम्पोज संगै बिभिन्न ठाउँहरुमा आयोजित साँस्कृतिक कार्यक्रमहरु मै व्यस्त छु । लोक दोहोरी कलाकारहरुको मुख्य आम्दानीको स्रोत के हो ? फिजीकल ब्यापार अडियो, सिडिको बजार अन्त्य सँगै खासै आम्दानी त छैन तर पनि स्टेज कार्यक्रमहरु, युवट्युब, आई टुयून्स् लगायत डिजीटल प्लेट फार्मको आर्थिक आयले हालको अवस्था चलिरहेको छ । दोहोरी साँझमा गीत गाउनेहरुले दोहरी क्षेत्रमा विकृति ल्यायो भन्छन नि ! दोहरी साँझमा पाहुनाहरु दिन भरिको भाग दौडबाट केही क्षण रमाइलो गर्न आउनुहुने भएकाले साविकको शब्द र भाकालाई नबिगारी मनोरञ्जनका खातिर प्रत्यक्ष स्टेजमा गाउनु हुने केही कलाकार साथीहरुले भद्दा प्रस्तुति दिनु भयो होला तर विकृति ल्यायो भन्न चाहिँ मिल्दैन । किनकि अहिलेसम्म दोहोरी साँझले नै धैरै भन्दा धेरै कलाकार जन्माएको छ र उनीहरुको रोजी रोटीको आधार बनाइदिएको छ । वैकल्पिक व्यवसाय नखोज्ने हो भने यो क्षेत्रमा भविष्य कहाली लाग्दो छ भन्छन त ! बिश्व माहामारी कोरोना यता लामो समय मनोरञ्जनको क्षेत्र प्राय: बन्द भएसँगै दोहोरी साँझ पनि अछुतो रहने कुरै भएन । हामी जस्तो कलाकारलाई धेरै गाह्रो बनायो । बिस्तारै वातावरण पुरानै अवस्थामा फर्कने क्रममा छ । तर पनि आम्दानीको वैकल्पिक स्रोत नअपनाउने हो भने बाँच्न कठिन छ । यो यथार्थ हो र सबैले बुझेका पनि छन जस्तो लाग्छ । संगीत बिकास बोर्ड अनि लोक संग्रहालय सञ्चालन गर्ने चर्चा थियो, त्यो सेलाएको हो र ? यो विषयको उठान कोरोना कहर हुनु पहिलेको हो । कोरोनाले विश्वव्यापी रुप लिएपछि लकडाउन लगायतका समस्याका कारण नेपालका प्राज्ञ प्रतिष्ठान तथा गीत संगीतसँग सम्बन्धित बिभिन्न संघ संस्थाले तय गरेका अन्य कार्यक्रमहरु सँगै संगीत बिकास बोर्ड तथा लोक संग्रहालय सञ्चालन गर्ने योजना पनि हाललाई स्थगित भएको छ । सम्पुर्ण कलाकारहरुको हक अधिकार स्थापित गर्दै प्रतिलिपी अधिकार समेत सुरक्षित गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको संगीत बिकास बोर्ड तथा लोक बाजा,संस्कृति,नाच,लोक साहित्य र लोक गीतहरूको संरक्षण गर्ने उद्धेश्यले तयार गर्न लागिएको को लोक संग्रहालय बनाउने तयारी भए पनि हुन सकेन । हाल वातावरण सहज भएको छ । अब ति कामले निरन्तरता पाउने छ भन्ने कुरामा म आशाबादी छु । लोकगीत, लोकसंगीत मन पराउनेको संख्यामा कमी आएको हो ? लोक दोहोरीलाई मन नपराउनु भनेको हाम्रो मौलिक पहिचान बोकेको लोक संस्कृतिलाई बिर्सनु सरह हो । त्यसैले मलाई त के लाग्छ भने ९५ प्रतिशतले लोक दोहोरी गीतलाई मन पराउनु हुन्छ । बालकदेखि वृद्धासम्म लोक संगीत नहेरी नसुनी बस्नै सक्नु हुन्न । अहिलेका टिनेजर केटाकेटीहरु पनि लोक गीत संगीत प्रति आकर्षित रहेको पाइन्छ । अधिकांश टिकटक पनि लोक गीतकै बनेको पाइन्छ । त्यसैले पनि लोक संगीत मन पराउनेहरुको संख्यामा कमी आएको छैन बरु दिन प्रतिदिन लोक गीत प्रतिको आर्कषण बढी रहेको छ । लोक दोहोरी क्षेत्रको नकारात्मक पक्ष के हो ? कतिपयले मौलिक लोक दोहोरी गीतलाई फोहोरी बनाएर गाएका छन । अरुको भाका जस्ताको तस्तै हुबहु चोरेर गीत निकालेका छन । सुन्न नसकिने शब्द प्रयोग गरेर चर्चा कमाएका छन । प्रतिलिपी अधिकार धनीको अनुमती बिना उसका सिर्जना लाईभ दोहोरीमा गायर खलेआम डलर कमाईरहेका छन । हाम्रो सिर्जनाको खुलेआम चोरी भै रहेको छ हामी मुक दर्शक बनेर हेरी बसिरहेका छौं । मेला महोत्सव जस्तो कार्यक्रम ठेकेदारलाई जिम्मा लगाएर आफ्नै जिल्लाका स्थानीय कलाकारलाई उपेक्षा गरिएको छ भने असली कलाकार भन्दा नि गैर कलाकारलाई स्थान दिने जस्ता समस्या छ । जसले गर्दा असली कलाकारहरु मारमा परिरहेका छन । समाज परिवर्तनमा गीतसंगीतको भूमिका कस्तो रहन्छ ? विश्वमा जति पनि आमुल परिवर्तनका घटनाहरु भए त्यसमा गीत संगीतको महत्वपुर्ण भूमिका रहेको छ । समाजमा चेतनामुलक सन्देश छिटो भन्दा छिटो र्पुयाउने अचुक माध्यम भनेकै गीत संगीत हो । ईतिहासका हरेक काल खण्डलाई नियाल्दा पनि ब्यबस्था परिवर्तनका ननिम्ति गीत संगीत कै महत्वपुर्ण भुमिका रहेको पाईन्छ । विभिन्न रियालिटी शोहरुबाट आइरहेका नव प्रतिभाहरु लामो समय यो क्षेत्रमा टिक्न नसक्नुको कारण ? बिभिन्न रियालिटी शोहरुबाट नव कलाकार जन्मनु राम्रो हो, तर विजयी भएर आइसके पछि उनीहरुको भविष्यको बारेमा कसैले सोचेको हुँदैन । कार्यक्रममा रहुन्जेल चर्चामा रहन्छ, हार जित जे भएपनि कार्यक्रमको समाप्तिसँगै उनीहरुको चर्चा पनि मत्थर हुँदै जानु राम्रो होइन । अर्को कुरा रियालिटि सो जितेर आयका नव कलाकारहरुले आफ्नै गीत रेकर्ड गरेर गाउनुको साटो अग्रजहरु कै ट्रयाकमा प्रस्तुति दिनुले पनि उनीहरु स्थापित हुन नसकेको जस्तो लाग्छ मलाई । अहिलेसम्म कतिजति स्टेज कार्यक्रम र गीत सार्वजनिक गर्नुभयो ? करिब सात सय भन्दा धेरै गीतहरुमा शब्द,संगीत गरेको छु । डेढ सय जति गीत आफ्नै स्वरमा रेकर्ड गराएँ । देश र बिदेश गरेर करिब एक हजार भन्दा बढी नै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेको छु । उपत्यका होस या बाहिर जति पनि साँस्कृतिक कार्यक्रम हुन्छन प्रायः जसो आयोजकहरुले मलाई सम्झनु हुन्छ र समय मिलेसम्म कार्यक्रममा उपस्थित भएर आफ्नो प्रस्तुति दिँदै आएको छु । अन्त्यमा केही भन्नु छ ? राज्यले एउटा बिशिष्ट पोलिसी निर्माण गरी आजिबन जीविकोपार्जनका निम्ती ठोस कानुन निर्माण गरोस र हाम्रो कला संस्कति अनि हामी कलाकारहरुलाई प्रोत्साहित र सम्म्मान गरोस भन्न चाहन्छु ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update