Erani Mahal
निस्दीको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम
j
पाल्पा - निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो । प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्ष २०७९/०८० मा वित्तीय प्रगति विवरण अन्तर्गत चालू तर्फ ८३ दशमलव ९ प्रतिशत र पुजिगत तर्फ ६४ दशमलव ९४ प्रतिशत खर्च भएको बताउनुभयो । गतवर्ष निस्दीमा आर्थिक विकास तर्फ ७८ दशमलव ९८ प्रतिशत, सामाजिक विकास तर्फ ८६ दशमलव ५५ प्रतिशत, पूर्वाधार विकास तर्फ ५४ दशमलव ७४ प्रतिशत, सुशासन तर्फ ७९.३१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ७० दशमलव ०९ प्रतिशत गरि कुल ७५ दशमलव ५७ प्रतिशत खर्च प्रगति भएको बताउनुभयो । साथै चालू आर्थिक वर्ष २०८०/०८१ मा चालू तर्फ ४५ करोड २ लाख ५५ हजार र पुजीगत तर्फ २४ करोड २ लाख २७ हजार गरि कुल ६९ करोड ४ लाख ८२ हजार बराबरको बजेट विनियोजन भएको बताउनुभयो । गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, भौतिक पुर्वाधार, बिजुली, पर्यटन, कृषि, विपत व्यवस्थापन जस्ता विषयमा रहेर जिज्ञासा तथा सुझाव दिएका थिए । साथै सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, युवा स्वरोजगार जस्ता विषयमा जिज्ञासा तथा सुझाव दिएका थिए । कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने र नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका सभापति पुर्ण बहादुर खाँणले निस्दीको विकासमा राजनैतिक दल बाधक नबन्ने र सदैव सहयोग रहने बताउनुभएको थियोे । सहभागीले उठाएका जिज्ञासाको जवाफ विषयगत शाखाका संयोजक, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले दिनुभएको थियो । अध्यक्षको असनबाट बोल्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै पालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताउनुभएको थियो । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताउनुहुँदै सरोकारवाला सबैलाई सुझावका लागि अनुरोध गर्नुभएको थियो । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्याल र नारायण न्यौपानेले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update