Erani Mahal
निस्दीका खाली जमिनमा ३५ हजार बढी विरुवा राेपण !
nis
पाल्पा - निस्दी गाउँपालिकामा यस वर्ष पैंतीस हजार बढी बिरुवा रोपण गरिएको छ । गाउँपालिकाका विभिन्न सामुदायिक वन तथा निजी जग्गाको खाली क्षेत्रमा तेजपात, चिउरी र खयरका बिरुवा रोपण गरिएको हो । वृक्षरोपणको लागि आवश्यक बिरुवा निस्दी सव डिभिजन वन कार्यालय मित्यालको सहयोग मार्फत विभिन्न नर्सरीमा तयार गरिएको थियो । नर्सरीमा तयार भएका बिरुवा सामुदायिक वन तथा निजी जग्गाधनीलाई निशुल्क रुपमा वितरण गरेको निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख नन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार थुम्काडाँडा सामुदायिक वन उपभोक्ता समूह निस्दी ४, मित्याल, मौलाथरका उपभोक्ताले दुई हेक्टर क्षेत्रमा ३ हजार २ सय बढी चिउरी र तेजपातको बिरुवा लगाएको बताउनुभयो । यस्तै गरी रिगैरा सामुदायिक वन उपभोक्ता समूह मित्याल, झ्यालतुङले चार हेक्टर क्षेत्रफलमा ६ हजार ४ सय बढी तेजपात र चिउरीको बिरुवा लगाएका छन । पोखरा डाँडा सामुदायिक वन उपभोक्ता समूहले ३ हेक्टर क्षेत्रमा ३ हजार ३ सय बढी खयरको बिरुवा लगाएको छ । वडा नम्बर ६ अर्चलेका ३५ घरधुरीले आफ्नो निजी जग्गामा ६ हजार ५ सय तेजपातको बिरुवा रोपण गरेको बन कार्यालयका प्रमुख अधिकारीले बताउनुभएको छ । त्यसैगरी यहाँको अन्य सामुदायिक बन र अन्य व्यक्तिहरुले पनि ठूलो परिणाममा वृक्षरोपण गरेको अधिकारीले जानकारी दिनुभएको छ । चिउरीको बोट बहुउपयोगी बिरुवा हो । चिउरीको घाँस गाईबस्तुलाई धेरै पोसिलो मानिन्छ । गाउँघरमा विभिन्न भोजभतेर तथा विवाहमा चिउरीको पातको दुना टपरी बनाएर प्रयोग गर्ने गरिन्छ । चिउरीको विशेष गरी तेल सहित घाँसपात र भूसंरक्षणका निम्ती महत्वपूर्ण हुनेगरेको निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख अधिकारीको भनाइ छ । चिउरीको तेल ( घिउ ) रोटी पोल्न, मकै भटमास भुटन र कोही कसैले तरकारी पकाउन तेलको समेत प्रयोग गरिन्छ । तेल निकालेपछिको पिना कृषकले बारीमा मलको रूपमा प्रयोग गर्नुका साथै चुलोमा आगो बाल्न र खोलामा माछा मर्नको लागि पनि प्रयोग गरेको देखिन्छ । यस्तै तेजपात र खयरबाट पनि उपभोक्ताले धेरै आम्दानी प्राप्त गरेका छन् । निस्दीमा वृक्षरोपण कार्य प्रत्येक वर्ष हुँदै आएको छ । जसले गर्दा प्राकृतिक प्रकोप हुनबाट जोगिनुका साथै आर्थिक लाभ समेत हुने गरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update