Erani Mahal
तानसेन खानेपानी समिति पाँच वर्षपछि बैधानिक : नयाँ समितिलाई चुनाैतीकाे चाङ्

पाल्पा – लामो राजनैतिक रस्साकस्सीपछि तानसेन खानेपानीले नयाँ समिति पाएको छ । पाँच वर्षसम्म अबैध रुपमा चलेको खानेपानी उपभोक्ता समिति पाँच वर्षपछि बैधानिक बनेको हो । 


राजनैतिक किचलो र व्यक्तिगत महत्वाकांक्षाले थिलोथिलो बनेको खानेपानी उपभोक्ता समितिको पाँच वर्षपछि निर्वाचन भएको हो । निर्वाचनपछि खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मोहनप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेपनि अन्य तीन जनाले उम्मेदवारी फिर्ता लिनुभएको थियो । राजु महर्जन, भुगोलप्रसाद बैजु र प्रज्ञासागर शाक्यले उम्मेदवारी दिनुभएको थियो । नवनिर्वाचित अध्यक्ष विवादका बीच तानसेन नगरपालिकाले बनाएको तदर्थ समितिका संयोजक रहनुभएको थियो । 


नगरपालिकाले तदर्थ समिति घोषणा गरेपछि यसअघिको समितिका अध्यक्ष पुरनमान बज्राचार्यलगायतले अदालतमा मुद्दा दायर गर्नुभएको थियो । पछि राजनैतिक सहमतिपछि बज्राचार्यले मुद्दा फिर्ता लिने र नगरपालिकाले नयाँ तदर्थ समिति भंग गर्ने र तानसेन उपभोक्ता समितिकिो निर्वाचन गर्ने सहमति बनेको थियो । 

 

camm-1703773792.jpg
 


यस्तै उपाध्यक्षमा लालमने अधैपुन, सचिवमा प्रेम मल्ल, सहसचिवमा बिर्जु खाती र कोषाध्यक्षमा सुशिला श्रेष्ठ कर्माचार्य निर्वाचित हुनुभएको छ । सचिवमा विष्णुबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको थियो । यस्तै सदस्यमा वसन्तकुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल र फूलकुमारी सुनारी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । 


यसैबीच नयाँ बनेको समितिलाई खानेपानी समस्या समाधान गर्ने चुनौती छ । उसले पुरानो समितिले अलपत्र बनाएको कालीगण्डकी खानेपानी योजना पूरा गर्ने सबैभन्दा बढी चुनौती छ । कालीगण्डकी खानेपानी योजना सात वर्षमा पनि पूरा हुन सकेको छैन । गलत स्टमेट र योजनाका कारण यो योजना लामो समयसम्म पूरा हुन नसकेको हो । 


यतिमात्र होइन, नवनिर्वाचित श्रेष्ठको तदर्थ समितिले वर्षात्को बेला कालीगण्डकीको पानी सोझ्याएर तानसेनमा पानी वितरणमा सहजता ल्याएको थियो । तर अब पानी सुख्खा हुँदै गएपछि पानी वितरण सहज हुने सम्भावना कम छ । यद्यपी श्रेष्ठ नेतृत्वको तदर्थ समितिले केही सकारात्मक प्रयास भने गरेको थियो । उसले वितरण प्रणालीमा सुधार ल्याएको थियो भने करिब सात सय नयाँ धारा वितरण गरेको थियो । यस्तै खानेपानीको समय तालिका चोकचोकमा टाँसेर उपभाेक्तालाइ सूचना प्रदान गर्ने सकारात्मक पलह गरेको थियो । नयाँ बनेकाे समितिले अब के गर्छ, त्याे भने हेर्न बाँकी छ । 

तानसेनकाे खानेपानी नेपालकै सबैभन्दा महंगाे खानेपानी हाे । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update