Erani Mahal
पाल्पाका याेजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कालाेसूचिमा राख्न सिफारिस

पाल्पा - समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । ठेक्का लिएको एक दशकमा पनि काम नगर्ने आठ निर्माण व्यवसायीलाई कालोसूचिमा राख्न सडक डिभिजन कार्यालय पाल्पाले सिफारिस गरेको हो । 
पाल्पाका दश वटा आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर कालोसूचिमा राख्न सडक विभागमा सिफारिस गरिएको डिभिजन प्रमुख बावुराम सापकोटाले जानकारी दिनुभयो । तोकिएको समयभित्र काम नगरी पटक–पटक म्याद थप गर्दासमेत आयोजना अलपत्र पार्ने आठ वटा निर्माण व्यवसायीसँगको ठेक्का तोडेर कालोसूचिमा राख्न सिफारिस गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पटक–पटक म्याद थपेर पनि काम नगर्ने ठेकेदारसँग सम्झौता तोडेर धरौटी जफत गरी कालो सूचीमा राख्न सिफारिस गरेका छौँ ।’


माडी चक्रपथको ठेक्का लिएर काम नगर्ने कान्छाराम जयवावा गोरखा जेभी काठमाडौँ, कोसी एण्ड न्यौपाने ओम साई कन्ट्रक्सन जेभी काठमाडौँको ठेक्का रद्द गरिएको छ । उसले विगत दश वर्षदेखि माडी चक्रपथको आयोजना अलपत्र परेको छ । यस्तै  सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको जरेपिपल खण्ड, आर्यभञ्ज्याङ्ग रामपुर सडक खण्ड र तानसेन बुटवल सडक खण्डको डुम्रे क्षेत्रमा मर्मतका लागि जयरक्तकाली कन्ट्रक्सन प्रालि, नुवाकोटलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । जिल्लाको महत्वपूर्ण सडकको रुपमा रहेको आर्यभञ्ज्याङ्ग–रामपुर सडक खण्डको मर्मतका लागि उदय कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी पाल्पा पनि कालो सूचिमा परेको छ । 

रिडी–तम्घास क्षेत्रमा सडक मर्मतको जिम्मेवारी लिएको रिदम कन्ट्रक्सन बुटवल रुपन्देही, झुम्सा राम्दी सडक खण्ड मर्मतको जिम्मा लिएको नमुना कन्ट्रक्सन खिम्ती प्राली रामेछापसँग पनि ठेक्का तोडिएको छ । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको झुम्सा क्षेत्रमा मर्मत सम्भारका लागि जिम्मा पाएको चण्डी निर्माण सेवा सिद्धार्थनगर रुपन्देही पनि कालोसूचि राख्न सिफारिस गरिएको छ । 
यस्तै कालीगण्डकी नदीमा गुल्मी–रिडी र स्याङ्गजा–चण्डीभञ्ज्याङ्ग जोड्ने स्टिल ट्रस पुल निर्माणको ठेक्का सम्झौता गरेको श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाडौँसँगको ठेक्का तोडेर कारबाही गरिएको कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update