Erani Mahal
जिल्ला सहकारी संघकाे एघाराैँ साधारणसभा सम्पन्न

पाल्पा – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले विभिन्न निकायमा गलत प्रवृत्ति हावी भएका कारण विकासले गति लिन नसकेको बताउनुभएको छ । राजनैतिक क्षेत्र मात्र नभएर सबैजसो क्षेत्रमा गलत प्रवृत्ति हावी भएको उहाँको भनाई छ । 

आइतबार तानसेनमा जिल्ला सहकारी सङ्घ पाल्पाको एघारौँ साधारणसभामा बोल्नुहुँदै सभामुख घर्तीमगरले तीनै तहको सरकारले गरेका कामलाई कसैले अपनत्व लिन नचाहेको उल्लेख गर्नुभयो । सबै कुरा भत्किएको मात्र देख्ने प्रवृत्तिका कारण काम गर्ने मानिसमा समेत नकारात्मक दृष्टिकोण हावी भएको उहाँको भनाई छ । 

सभामुख घर्तीमगरले केही सहकारीमा देखा परेको समस्या समाधानका लागि तीनै तहका सरकारी निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सहकारीकाे माध्यमबाट राेजगारी सिर्जना र उत्पादन क्षेत्रमा ट्रवा पुगेकाे बताउनुभयाे । उहाँले केही सहकारीका कारण सबै सहकारी संस्थाहरू बदनाम हुनु दुखद रहेकाे बताउनुभयाे ।

विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले सहकारी संस्थाले कृषि उत्पादनलाई जोड दिएर अघि बढ्न सुझाव दिनुभयो । पछिल्लो समय सहकारीहरूले मनपरी रूपमा अनुत्पादक क्षेत्रमा गरेको लगानीका कारण सहकारीहरूको अवस्था नाजुक बन्दै गएको उहाँहरूले बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे, रास्वापाका जिल्ला उपसभापति सुमन गैरेले शुभकामना दिनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जिल्ला भूमि आयाेगका अध्यक्ष माेहनलाल गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जगदीश भट्टराई, कृषि ज्ञान केन्द्रका निमिक्ति प्रमुख सन्तोष चौधरीलगायतले शुभकामना दिनुभएको थियो । 

११ औँ साधारणसभामा संघका अध्यक्ष भूपति पाण्डेयले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लाका विभिन्न सहकारी संस्थाहरुलाई आबद्ध बनाएर संघलाई बलियो बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

416912395_3682534772026199_2863912584910977576_n-1704635608.jpg
कार्यक्रममा लेखा सुपरीवेक्षण प्रतिवेदन संस्थाका संयोजक श्रीकृष्ण आत्रेयले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष पाण्डेयको अध्यक्षता, कोषाध्यक्ष कृष्ण भट्टराईको स्वागत र सचिव कृष्ण भुसालको संचालनमा सम्पन्न भएको हो । 

साधारणसभाकाे अवसरमा सहकारी क्षेत्रमा लगानी गर्ने उत्कृष्ठ गाउँपालिकाकाे रूपमा  रिव्दीकाेट गाउँपालिका, उत्कृष्ठ सहकारीकाे रूपमा बगनाकाली कृषि बहुउद्धेश्यीय सहकारी संस्था, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था र मिलनसार महिला उद्यमी सहकारी संस्थालाई सम्मान गरिएकाे हाे । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update