Erani Mahal
पाल्पाकाे रामपुरमा रहेकाे सहकारीबाट पाँच लाख बढी रकम चाेरी

पाल्पा -  ग्रामीण विकास बचत तथा ऋण सहकारीबाट पाँच लाख बढी रकम चोरी भएको छ । रामपुर नगरपालिका-२, भलायटारमा कार्यालय रहेको सहकारीमा तोडफोड गरी चोरी भएको हो।

सहकारीको कार्यालयको झ्याल फोरेर घर्रा तथा भल्ट खोली रकम चोरी भएको हो । बुधबार विहान कार्यालय खोल्ने क्रममा झ्याल तोड्नुका साथै भल्ट तथा टेवलका घर्राहरु तोडिएको अवस्थामा भेटिएको सहकारीका व्यवस्थापक प्रेम बहादुर थापाले बताउनुभयो । गत शनिबार कारोबार पश्चात भल्टमा राखिएको नगद ५ लाख ४० हजार ४ सय ५५ रुपैयाँ तथा कार्यालयमा जडान गरिएको सिसिटीभी क्यामेराको रेकर्डर बक्स समेत चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीले हप्तामा आईतबार बाहेक ६ दिन सेवा प्रदान गर्दै आएको थियो । ३ दिनको विदा पश्चात कार्यालय खोल्ने क्रममा तोडफोड गरी चोरी भएको भेटिएको हो । चोरी कहिले भएको भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक शालिकराम खनालले चोरीको घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update