Erani Mahal
बुटवलका सार्वजनिक स्थलमा बनेका घरटहरा हटाउने अभियान सुरू

बुटवल - बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ। सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उदेश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको हो।

अभियान अन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ। सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक पटक पत्राचार गरेपनि स्वतस्फुर्त टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार हाटबजार लाईनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस पार्क निर्माण गरिनेछ।यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उहाँले बताउनुभयाे । यस्तै वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्कहरु, चौतारीहरु, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयाे । चालु आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारीहरु निर्माण गरिनेछ र आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिने उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update