Erani Mahal
सरकारी सवारी दुरूपयोग रोक

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै तीन तहको सरकारहरूले काम कारवाही गरिरहेका छन् । संघ, प्रदेश र स्थानीय तहमा अहिले जनप्रतिनिधि र कर्मचारीहरू कार्यरत रहेका छन् । पछिल्लो समयमा यि तिनै तहका सरकारको सार्वजनिक विदाको समयमा सरकारी सवारीको दुरूपयोग गर्ने क्रम बढेको छ । सार्वजनिक विदा वा कार्यालय समय बेगर सरकारी सवारीमा यात्रा गर्न जनप्रतिनिधि र कर्मचारी लालायित देखिएका छन् । सरकारी सवारी लिएर डेटिङ्ग जाने, व्यक्तिगत कामका जाने क्रम पाल्पामा नौलो विषय होइन, यो विगतदेखि नै हुँदै आएको छ । सार्वजनिक विदाको समयमा वा कार्यालय समय बाहिर राजमार्गहरूमा सेता प्लेटका गाडीहरू दौडिरहेका पाइन्छन् । यस्तै कतिपयले त सरकारी नम्बरप्लेटलाई नीजि नम्बर प्लेट समेत राखेको पाइन्छ, तर सरोकारवालाहरू त्यसको न्यूनिकरणतर्फ भने कत्तिपनि ध्यान नदिएको पाइन्छ ।

 

सरकारी सवारी पछिल्लो समयमा विदाको समयमा पिकनिक खान, राजनीतिक पार्टीको सभा, सम्मेलनमा जान, घुम्न, दुध किन्न, आफ्ना छोराछोरी विद्यालय लैजान ल्याउन, अस्पतालमा उपचार गर्न जान, मृत्यू तथा विवाह भोजमा, व्यक्तिगत सामान ओसार पोसार गर्न, ठेरा सर्न, घर बनाउने सामान बोक्न लगायतका सार्वजनिक भन्दा पनि व्यक्तिगत र राजनीतिक स्वार्थमा बढी प्रयोग भएका छन् । सार्वजनिक सरकारी सवारी साधनहरू कार्यालयको समयमा कामकाजलाई सहजताको लागि प्रयोग गर्नुपर्ने हो तर पाल्पा लगायत देशभर सरकारी साधनको दुरूपयोग बढ्दो मात्रामा रहेको छ ।

पाल्पामा पछिल्लो समयमा स्थानीय तहका सवारी साधन, मोटरसाइकल, स्कुटरहरू व्यक्तिगत काममा प्रयोग गरिरहेका छन्, सार्वजनिक विदा वा कार्यालय समय बाहिर सवारी प्रयोग गर्नुपर्ने भएमा कारण खुलाएर प्रशासनको स्वीकृति लिएर मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था छ तर स्थानीय जनप्रतिनिधि र कर्मचारीको चरम लापरवाहीले गर्दा सरकारी साधनको दुरूपयोग बढेको छ । सरोकारवाला निकायहरूको चरम बेवास्ता, जनप्रनिधिहरूले नै सवारी साधनको दुरूपयोग गरेपछि त्यसको रोकथाम तथा नियन्त्रण कसले गर्ने भन्ने गम्भिर प्रश्न चिन्ह खडा भएको छ त्यस तर्फ सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने आवश्यक छ साथै नागरिक स्तरबाट समेत निगरानी बढाउन आवश्यक रहेको छ ।

 

प्रहरी प्रशासनले सार्वजनिक सवारीको चेकजाँच लाई थप प्रभावकारी बनाउनु आवश्यक छ, यस्तै अव चाडपर्व नजिकदै गर्दा भाडाको सवारीले समेत यात्रुहरुलाई दुख कष्ट दिने, ओभरलोड बोक्ने, बढी भाडा अशुल गर्ने लगायतका गतिविधिहरु गर्न सक्दछन् त्यसतर्फ निगरानी बढाउन आवश्यक रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update