Erani Mahal
रामपुरमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि आधारभूत तालिम

पाल्पा -  सुचना प्रविधि सम्बन्धि ४ दिने आधारभूत तालिम रामपुर नगरपालिका पाल्पामा आईतबार सम्पन्न भएको छ ।   नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

 

 

दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र शिक्षकहरुलाई डिजिटल साक्षर बनाउनका लागि ज्ञान सिप सिकाईएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रविधियुक्त नगरपालिका निर्माण गर्ने अभियानमा नगरपालिका लागेको बताउनु भएको छ ।

 

उहाँले विद्यालय मात्र नभई हरेक वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभयो । नगर प्रमुख थापाले प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यालयको सुचना प्रणालीलाई चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । प्रविधिको प्रयोगले सेवा सहज हुने र काम गर्न पनि छिटो र सरल हुने भएकाले प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।

 



   कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले विद्यालयको  प्रशासनिक कामका लागि आवश्यक ज्ञान सिप तालिम मार्फत सिकाईएको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै तालिमका प्रशिक्षक विमल रानाले सिकेका ज्ञानलाई विद्यालयमा निरन्तर रुपमा प्रयोग गरि सुचना प्रविधि सम्बन्धि दक्ष बन्न आग्रह गर्नु भएको छ ।

 

 

कार्यक्रममा तालिममा सहभागिहरुको तर्फबाट रश्मिता घिमिरे र कृष्ण प्रसाद कंडेलले बोल्दै डिजिटल साक्षर हुने अवसर प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिंदै सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

 


रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नु भएको थियो । ४ दिन सम्म चलेको तालिमको सहजिकरण प्रशिक्षक विमल रानाले गर्नु भएको थियो। तालिममा नगरपालिका भित्रका २८ प्राथमिक विद्यालय र ५ वटा आधारभूत विद्यालयका  ३३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update