Erani Mahal
तानसेनमा जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने

पाल्पा -  तानसेन नगरपालिकामा सरकारी सेवा (सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् । 

 

 

नगरपालिकामा सार्वजनिक शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउन सरकारी सेवासुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरिएको नगर शिक्षा समितिका संयोजक तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो  ।

 

 

 

आव २०८१–८२ देखि यहाँका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरी र उहाँहरूले अभिभावकत्व लिएका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने नगर शिक्षा समितिको बैठकबाट निर्णय गरिएको छ ।

 

 

सामुदायिक विद्यालय सुधारसँगै नगरपालिकाको शिक्षाको गुणस्तरमा सुधार ल्याउन यस्तो निर्णय गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । विशेषगरी सार्वजनिक शिक्षामा जनप्रतिनिधि र कर्मचारीलगायत सबैको चासो बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताउनुभयो । 

 

 

तानसेन नगरपालिकाको स्थानीय शिक्षा नियमावलीको चौथो संशोधन गरी सबै बालबालिकालाई सरकारी विद्यालयमा अध्यापन गराउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा केही समायोजन भएर हाल १८ वटा माध्यमिक विद्यालय, ६ आधारभूत विद्यालय र २६ प्राथमिक विद्यालय रहेका छन् । १९ वटा निजी विद्यालय रहेका छन् । 

 

 

यहाँका सामुदायिक सात हजार सातसय ७्र० र निजी विद्यालयमा गरी करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेको शाखा प्रमुख न्यौपानेले बताउनुभयो । यसैगरी तानसेन नगरपालिकाले नगरलाई शैक्षिक हवको रुपमा विकास गर्न नयाँ योजना अगाडि बढाएको छ । 

 

 

तानसेन नगरपालिका भित्रका ५० विद्यालयमध्ये ४ विद्यालयलाई विग विद्यालयको अवधारणाको रुपमा विकास गर्ने तयारी गरिएको तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार एकसय गरीब, जेहेन्दार अति विपन्न विद्यार्थीलाई निःशुल्क आवासीय पठनपाठन गराइने छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update