Erani Mahal
पाल्पामा नयाँ बर्षको नयाँ गन्तब्य : तेल्घा गुफाचौर

दशरथ अस्लामी पाल्पा – नयाँ वर्ष पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । 

 


यस अवसरमा आपसमा सद्भावको आदान–प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । त्यसैले यस दिनमा मानिसहरु नयाँ ठाउँमा घुम्ने रमाउन उपयुक्त ठाउँको खोजी गरेका हुन्छन् ।

 


यसैबिच नयाँ बर्ष २०८१ बैशाख १ भित्रिदै गर्दा मानीसहरु तानसेन नगरपालिका वडा नं. १०, तेल्घा गुफाचौर जाने योजना बनाइरहेका छन् । यो तानसेन लगायतका स्थानबाट बनभोज तथा रमाइलो गर्न  उपयुक्त ठाउँ हो । 

 


यो ठाउँ प्राकृतिक रुपमा अत्यन्त सुन्दर एवं रमणिय छ । उत्तर तर्फ लहरै हिमालको काखमा रहेको तानसेन बजारको सुन्दर दृश्यावलोकान गर्न सकिन्छ । गुफाचौर अग्लो स्थानमा भएकोले गुल्मी, पाल्पा तथा स्याङ्गजा जिल्लाका मनोरम दृश्य एवं बुटवल पश्चिमको तराइको भाग देख्न सकिन्छ । यस ठाउँमा प्राकृतिक रुपमा बनेका हरियाली चउर र ढकमक्कै फुलेका लालीगुराँस संगै रमाउन र काफल, एसेलु, चुत्रौ आदिको स्वाद लिन सकिन्छ । यस स्थानमा सवारी साधनको प्रयोग गरी तानसेन होलाङ्गदी बाट सेतिपोखरी बन्दिपोखरा हुदै ४० मिनेटमा र डुम्रेबाट सुनडाँडा तेल्घा गाउँ हुदै ३० मिनेटमा पुग्न सकिन्छ । 

 


यो ठाउँमा तानसेन नगरपालकिाले बनभोजका लागि सेड बनाइदिनुका साथै खानेपानी र विद्युतको पनि सुविधा रहेको छ । गुफाचौर प्रकृतिसंग रम्न चाहानेहरुको नयाँ गन्तब्य बनेसंगै अहिले त्यहाँ २ वटा रिसोर्ट तथा रेष्टुरेन्ट खुलेका छन् । अव उक्त स्थानलाई प्राकृतिक पर्यटकिय स्थलको बिकास संगै अझ आकर्षक बनाउन पार्क, बालउद्यान, बगैचा आदि बनाउनुपर्नेमा स्थानियहरुको माग रहेको छ । नयाँ बर्षकै अवशरमा तानसेन नगरपालिका वडा नं. १० का वडाअध्यक्ष हिमलाल पंगेनीले शुभकामना दिनुहुदै सबै समुदायलाई तेल्घा गुफाचौर आउन, घुम्न, रमाउन आग्रह गर्नुभएको  छ । 

 


नयाँ बर्षमा यस ठाउँमा स्थानिय खाजाका परिकारहरु तथा खुल्ला पञ्चेबाजा नाचगान कार्यक्रम रहने छ भने बनभोज आउनेहरु आफुले चाहेको उपयुक्त स्थान रोजेर रमाउन सक्नेछन् । 

 


नयाँ बर्षको नयाँ गन्तब्य तेल्घा गुफाचौर डाँडा हजुरहरुलाइ स्वागत गर्न आतुर छ । नयाँ बर्ष २०८१ को सम्पुर्ण नेपाली दाजुभाई दिदीहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update