Erani Mahal
पाल्पा क्षेत्र २ का मतदाता भोट दिन आतुर छन् : पाण्डेय
Photo (1)
मतदातासमक्ष मैले पूरा गर्न नसक्ने होइन, आगामी पाँच वर्षमा पूरा गर्ने एजेन्डा मात्र लगेको छु । संसद्‍मा खेल्ने भूमिका, नीति नियम बनाउन विभिन्न समितिमा रहेका विषय र किन विगतमा काम गर्न सकिएन भन्ने कुरा पनि जानकारी गराएको छु ।
पाल्पा — पाल्पा क्षेत्र नम्बर २ मा पूर्वउद्योगमन्त्री तथा निवर्तमान सांसद सोमप्रसाद पाण्डेयसहित दल र स्वतन्त्र गरी १४ जनाको प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा गर्दैछन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका पाण्डेयले २०७४ को निर्वाचन जितेको पार्टी एमालेसँग यसपालि प्रतिस्पर्धा हुने भएको छ । २०२७ सालमा तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनको आरम्भ गरेको पाण्डेय २०३१ मा गाउँ कमिटी सदस्य हुँदै २०३९ मा इलाका कमिटी सदस्य, २०५० सालदेखि २०६५ सम्म जिल्ला कमिटिमा आबद्ध थिए । २०६६ देखि २०७० सम्म नेकपा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका पाण्डेय २०७१ नेकपा एमालेको केन्द्रीय सदस्य भएका हुन । ८ महिना भूमिगत राजनीति र राजनीतिक आन्दोलका क्रममा एक महिनाभन्दा बढी जेलमा बसेका पाण्डेय २०५६ सालमा प्रतिनिधिसभा परराष्ट्र तथा मानव अधिकार समिति सभापति भएका थिए । यतिबेला पाल्पामा चुनावी अभियानमा व्यस्त पाण्डेयसँग रानीमहलका सहकर्मी तथा कान्तिपुरका उप सम्पादक माधव अर्यालले गरेको कुराकानी : चुनावी आइसक्यो, दौडधुप कस्तो छ ? चुनाव हो व्यस्त हुनु नै पर्छ । यसमा पनि पाल्पा पहाडी जिल्ला भौगोलिक विकटता छ । वडाहरुमा एक गाउँदेखि अर्को गाउँमा पुग्न निकै सास्ती पनि छ । डाँडा, लेक, बेंसी धाउन पर्छ । अर्को कुरा पाल्पामा म नयाँ अनुहार होइन । मलाई चिनाइरहन पनि पर्दैन । मतदाताले मलाई चिन्नु भएको छ । सुखदु:खमा साथमै छु । मैले के कस्ता काम गरेको छु भन्ने घामजस्तै छर्लङ्ग छ । त्यसैले चुनावी अभियानमा घरदैलोमा पुग्दा जनताको जुन उत्साह छ त्यसले मलाई हौस्याएको छ । यसपटक समय थोरै भएकाले घरदैलोलाई भन्दा पनि टोल भेलालाई प्राथमिकता दिएर मतदातालाई आफ्ना कुरा राखेको छु । संघीयतापछिको पहिलो निर्वाचन यसै क्षेत्रबाट मैले जितेको हुँ त्यसैले मेरो भूमिकाका विषयमा धेरै जानकार पनि हुनुहुन्छ । त्यसैले पाल्पा क्षेत्र २ का जनता धेरै उत्साहित, स्नेही, मत दिन आतुर भएको मैले पाएको छु । मतदातासमक्ष के कस्ता एजेन्डा लिएर जानु भएको छ ? जनताले माया गर्छन् । कोभिडका बेलामा ल्याएको पीसीआर मेसिनदेखि लिएर पाल्पा अस्पतालमा ल्याएका अक्सिजन प्लान्ट, विकास निर्माणका कामका विषयमा मतदाता आफै भन्ने गरेका छन् । जनतामा धेरै चेतना आइसकेको छ । अर्को कुरा मतदातासमक्ष मैले पूरा गर्न नसक्ने एजेन्डा होइन आगामी पाँच वर्षमा पूरा गर्ने एजेन्डा मात्र लगेको छु । संसद्मा खेल्ने भूमिका, नीति नियम बनाउन विभिन्न समितिमा रहेका विषय मात्र होइन किन विगतमा काम गर्न सकिएन भन्ने कुरा पनि जानकारी गराएको छु । जनताको आकांक्षा धेरै हुन्छ । त्यसमा पनि आधारभूत विषयवस्तु र पूरा गर्न सकिने विषयवस्तुलाई बोल्ने गरेको छु । अर्को कुरा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा) पनि साथमा छ । सबै बसेर बनाएका कार्यक्रमलाई नै मैले भन्ने गरेको छु । मेरो आफूले गर्ने कुरा मात्र नभएर गठबन्धनले बनाएको प्रतिबद्धतापत्रलाई पूरा गर्नेगरी मतदातासमक्ष पुग्ने गरेको छु । सडक, खानेपानी, शिक्षा, संस्कृति, धार्मिकस्थल, पर्यटकीयस्थल, स्वरोजगार, कृषिमा आधुनिकीकरण, व्यवसायिककरण, बाँदरलगायत जंगली जनावरले सताएका विषयमा मतदाताले राख्ने गरेको पाएको छु । यी र यस्ता विषयमा मैले टोल भेलामा गुनासा सुन्ने र त्यसपछि पूरा गर्न सकिने विषयवस्तुलाई मैले पूरा गर्नेछु भनेको छु त्यसबाहेक अनावश्यक आश्वासन बाँड्ने काम भएको छैन । कतिपय काम गुरुयोजना बनाएर अघि बढ्ने पनि भनेको छु । पर्यटकीय केन्द्र, शिक्षाको हब, स्वास्थ्यका क्षेत्रमा गर्ने काम, सडक स्तरोन्नति, सिद्धबाबा सडक, पर्यटकीयक्षेत्रलाई विकास गर्ने, खानेपानीलगायतका क्षेत्रमा गर्न सकिने कामलाई प्राथमिकता दिएर अघि बढेको छु । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित पार्टी एमालेविरुद्ध लड्दा कस्तो प्रतिस्पर्धा होला जस्तो लागेको छ ? हामीलाई होच्चाउने गरी जुन भ्रम फैलाइएको छ, त्यो चिर्न धेरै मुश्किल परेको छ । किनभने हामीले गत स्थानीय निर्वाचनमा ल्याएको वडाको मतलाई लिएर विभिन्न भ्रम फैलाइएको छ । त्यो भ्रम फैलाउनेहरुले मंसिर ४ को निर्वाचनपछि जवाफ पक्कै पाउनेछन् । हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएका हौं । अर्को कुरा वडाको मतका विषयलाई लिएर हुने टीकाटिप्पणीको जवाफल मसँग नभएको होइन । अहिले नेकपा एकीकृत समाजवादी पाल्पामा जिल्ला कमिटी, भ्रातृ संगठनसमेत गरी २ हजार ६ सय ८२ जना संगठित नै भइसकेका छन् । त्यति मात्र होइन तानसेन नगरपालिकाका पूर्वनगरप्रमुख अशोककुमार शाही, पूर्वउपप्रमुख लक्ष्मीदेवी पाठकलगायत थुप्रै प्रभावशाली नेता, कार्यकर्ता यतिबेला एकीकृत समाजवादीमा समाहित भइसक्नु भएको छ । यसबाट पनि अत्तालिएर हुन सक्छ विपक्षी साथीहरू अनावश्यक भ्रम फैलाइरहनुभएको छ । त्यो भ्रम चिर्न जनताको टोल, बस्ती, घरदैलोमा पुग्दा जहाँ मतदाता आफै उत्साहित भएको पाएको छु । मैले अहिलेसम्म कुनै गल्ती काम गरेको छैन । मेराविरुद्धमा बोल्ने कुनै उपाय नलागेपछि स्थानीय तहमा वडामा पाएको मतलाई लिएर जुन खालको भ्रम फैलाइएको छ । अहिले आएर मैले यति भन्ने अवस्था आयो कि मेरो कसैसँग प्रतिस्पर्धा हुने नै देखेको छैन । स्थानीय तहको मतपरिणाम कस्तो थियो ? स्थानीय तहमा गठबन्धन नै बलियो छ । एमालेको भन्दा गठबन्धनको नै बलियो भएको क्षेत्र हो । गठबन्धनदल मिलेर नै निर्वाचन लडेको हो । पाल्पाको क्षेत्र २ भनेको तानसेन नगरपालिका, बगनासकाकाली, माथागढीको एक वडा, तिनाउको पाँच वडा, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिका हो । यसमा बगनासकाली गाउँपालिकामा प्राविधिक कारणवस गठबन्धनले जित्न सकेन होइन भने अन्य सबै पालिकामा गठबन्धनकै बहुमत कार्यपालिकासहित स्थानीय सरकार गठन भएको छ । तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका प्रमुख कांग्रेस, उपप्रमुख माओवादी केन्द्र, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष कांग्रेस, तिनाउमा उपाध्यक्ष कांग्रेसले जितेको छ । त्यसैले कांग्रेस र माओवादी केन्द्रको मत बलियो देखिन्छ । त्यसबाहेक एकीकृत समाजवादीले संगठन विस्तार गरेको छ । यसबाट पनि स्थानीय तहको निर्वाचनमा देखिएको मतपरिणाम भन्दा अझ धेरै राम्रो मत अहिले हामीले पाउनेछौं । हामीले के बुझेका छौं भने जनता कसैका पेवा होइनन र परिस्थितिअनुसार बदलिएर मत दिन जानेका छन् । जनता सार्वभौम हुन् र विवेक प्रयोग गर्छन् । संसद्‍मा एमालेको भूमिकाबाट पनि जनता आजित भएको मलाई सुनाएका छन् । त्यसैले हिजोको मतपरिणामलाई हामीले अहिले आधार बनाउन हुँदैन । मतदाताको अपेक्षालाई कसरी पूरा गर्ने योजना बनाउनुभएको छ ? विगतमा गरेका कामका विषयमा धेरै मतदाताले थाहा पाइसक्नु भएको छ । अबका दिनमा भनेको तानसेनलाई पर्यटकीय केन्द्र बनाउने, प्राविधिक शिक्षाको हब बनाउने, शिक्षाको केन्द्र बनाउने, त्रिभुवन बहुमुखी क्याम्पसमा सिभिल इन्जियिनरिङ विषय पढाइ हुने गरी काम गर्ने योजना छ । बीएस्सीलाई एमएस्सीमा अपग्रेड गर्ने, वन अध्ययन संस्थाको स्नातक सुरु गर्ने, कृषि क्षेत्र सुन्तलाजात फलफूल विकास केन्द्र रहेको स्थानमा कृषि संकायको काम गर्ने योजना छ । दमकडाको पोलिटेक्निकल इन्स्टिच्युटलाई अपग्रेड गर्ने, मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउने, प्राविधिक शिक्षालय खोल्ने योजना अघि बढाएको छु । श्रीनगर डाँडालाई मौलिकता नबिग्रने गरी लुम्बिनीसम्म जोड्नेगरी काम गर्ने, सिद्धबाबा सुरुङमार्ग, सिद्धार्थ राजमार्गलाई डेडिकेटेड मार्ग, कालीगण्डकी करिडोरको स्तरोन्नती, माडी चक्रपथलाई आर्थिक केन्द्रका रुपमा अघि बढाउने, कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, कृषि उत्पादन बढाउन काम गर्ने, फलफूल सुन्तलाजात खेती बढाउने, रानीमहल, ऋषिकेशवलगायत पर्यटकीय क्षेत्रको विकास गर्ने भन्ने नै हो । गठबन्धन दलसँगको प्रतिबद्धता पनि छन् होला ? गठबन्धनका सबै दल मिलेर निर्वाचनमा होमिएका छौं । सबैको सरसल्लाहमै योजना बनेको छ । कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका साथीहरूसँग बसेर योजना बनेको हो । यसमा मेरो वा हाम्रो पार्टीको मात्र छैन । हामीले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन गरेको हो भन्ने सबैमा छ । हामीले संघ र प्रदेश दुवै तहमा स्थिर सरकार बनाउने योजना हो । सबैको जोड भनेको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रको सडक समस्या समाधान हो । कालीगण्डकी करिडोर, माडी चक्रपथ साथै झुम्सा–कचल, सालझण्डी–सुन्दरढुंगा, रामपुर–तानसेन–छहरा सडक स्तरोन्नती सबैले योजना अघि बढाएको अवस्था छ । तानसेनका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने, कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, सिंचाइमा सुधार गर्ने, भैरवस्थान, ऋषिकेशव, पुर्नाकोट, प्रभास, वंशगोपाल, रणउजिरेश्वरी भगवती, अमरनारायण, दर्लम महाकाली, बगनासदेवी, जलेश्वर, बल्ढेङगढी, नुवाकोट गढी, रैनादेवी, कालिका, लिपिन्देवी, रञ्जिकादेवी, रामनदीधाम, शिवासन, छत्रकोट, तिलकथान लगायतका मठमन्दिर, गढीका साथै मस्जिद, गुम्हा, चर्च, बिहार संरक्षण र पर्यटकीय क्षेत्रको विकास गर्ने सबैको योजना छ । सबै जातजाति, भाषाभाषीको विविध संस्कृति संरक्षणमा जोड दिइएको छ बौघागुम्हा, मरामकोट, जन्तीलुङ, छापमा व्यवस्थित होमस्टे सञ्चालन गर्ने भन्ने सबै दलको प्रतिबद्धता छ । चुनढुंगा, डोलोमाइट, कोइलाखानी आदि क्षेत्रलाई वातावरणीय अनुकूल हेनगरी व्यवस्थापन गर्ने साथै पाल्पाली पहिचान ढाका, करुवा, बगनासे साँचो, भुवनपोखरी (पेलावास) को घरबुना, पालुङको ठेकी, घोरबन्दाको माटोको भाँडा लगायतका सीप प्रविधिलाई पुनर्जीवित र आधुनिकीकरण गर्ने सबैको योजना हो । सबै पालिकामा १५ शय्याको आधारभूत अस्पताल र पाल्पा जिल्ला अस्पताललाई ५० शैयासहित स्तरोन्नति गर्ने भन्ने छ । स्वास्थ्य बीमा कार्यक्रममा प्रभावकारिता, औद्योगिक ग्राम निर्माण, प्रभावकारी बाँदर नियन्त्रणलगायतका धेरै विषयमा गठबन्धनका दलबीच प्रतिबद्धतापत्रमा सहमति भएको छ । ‘नो भोट’ र स्वतन्त्रबाट निर्वाचनमा फरक पार्दैन ? पाल्पामा ‘नो भोट’, ‘नो नट अगेन’ जस्ता अभियान छैन । स्वतन्त्र पनि धेरै प्रभावकारी छैन । मुख्य प्रतिस्पर्धा भनेको एमालेसँग नै हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update