Erani Mahal

तानसेन – लुम्विनी प्रदेश सरकारकाे झण्डै सात कराेड लगानीमा बनाएकाे तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ खुल्ला नाच घर तानसेन नगरपालिकालाई हस्तान्तरण गरेकाे छ । नगरपालिकालाई प्रदेश सरकारले डबली हस्तान्तरणसँगै यसकाे संचालन नगरपालिकाले गर्ने भएकाे हाे । आइतबार मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले तानसेनका नगरप्रमुख सन्ताेषलाल श्रेष्ठलाई डबलीकाे साँचाे हस्तान्तरण गर्नुभयाे । नगरपालिकालाई डबलीकाे संरक्षण, संचालन र व्यवस्थापनकाे सम्पूर्ण जिम्मेवारी दिइएकाे हाे ।

साे अवसरमा मुख्यमन्त्री चौधरीले तानसेनको कलासंस्कृति र पर्यटनको संरक्षण, प्रवद्र्धन गर्न स्थानीय सरकारलाई डबली हस्तान्तरण गरिएकाे बताउनुभयाे । डबली तानसेन नगरलाई हस्तान्तरणले यहाँकाे पर्यटन प्रबर्धनमा सहयाेग पुग्ने विस्वास उहाँकाे छ । लामाे समयदेखि डबली सञ्चालन नहुँदा स्थानीय बासिन्दाले डबली सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्रथामिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयाे । प्रदेश सरकारका सभामुुख तुलाराम घर्तीमगर(बसन्त)ले डबलीको अधिकतम प्रयाेग गरी फाइदा लिन नगरपालिकालाई आग्रह गर्नुभयाे ।

वि.स. २०७६ असारदेखि सुरू भएकाे डबली डेढ वर्षअघि मात्र सम्पन्न भएकाे थियाे । स्थानीय कलासंस्कृतिकाे संरक्षणसँगै स्वदेशी र विदेशी पर्यटकलाई डबलीमा मनाेरन्जन दिलाउने उद्धेश्यले निर्माण गरिएकाे प्रदेश सरकारका सचिव राजेन्द्र भण्डारीले बताउनुभयाे । डबली सञ्चालनकाे जिम्मेवारी नगरपालिका मातहत आएपछि जिल्लाकाे पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएकाे नगर उपप्रमुख प्रतीक्षा सिङ्जालीले बताउनुभयाे ।

 

 

डबली हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य नारायणी शर्मा, लुम्बिनी प्रदेश सांसद एवं पूर्व मन्त्री वीरबहादुर राना, प्रदेश सांसद खेमबहादुर सारु, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलालगायतले लगानीकाे प्रतिफल लिने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयाे ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update