Erani Mahal
पाल्पामा नसर्ने राेगका बिरामी बढ्दैं

पाल्पा - पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्दै गएका छन् । दैनिक खानपान तथा अस्तव्यस्त जीवनयापनका कारण नसर्ने रोगका बिरामीहरूको सङ्ख्या दिनप्रतिदिन बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ  । 

गत आव २०७९/०८० मा नसर्ने रोगहरू मृगौला, मुटु क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरीका ३२९ जना बिरामी देखिएका छन् । उनीहरूले नेपाल सरकारबाट विपन्न नागरिक कोषबाट सेवाका लागि सिफारिस लिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नसर्ने रोग सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाइमरका बिरामी भने सो आर्थिक वर्षमा सिफारिस लिने बिरामी देखिएका छैनन् । गत वर्ष मृगौलामा ८० जना, मुटुका ९२ जना, क्यान्सरका १४५ जना, हेड इन्जुरीका दुई र स्पाइनल इन्जुरीका सात जना बिरामी पहिचान भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

पछिल्लो समय युवायुवतीमा समेत नसर्ने रोगका समस्या देखिने क्रम बढेको छ । क्यान्सर र मगौला बिग्रिएर डायलासिस गर्ने तथा मृगौलाको प्रत्यारोपण गर्ने बिरामी पनि बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय नसर्ने रोगमा सबैभन्दा बढी क्यान्सरका बिरामी देखिएको उहाँले जानकारी दिनुभयो । नसर्ने रोगका बिरामी सबैभन्दा बढी तानसेनमा मात्र ८५ जना रहेको उहाँको भनाई छ । 

गाउँमा पनि नसर्ने रोगका बिरामीहरू रहेको भएपनि त्यसको पहिचान कम भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । दैनिक जीवनयापन र खानपानका कारण नसर्ने रोगका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताउनुभयो । नसर्ने रोगका बिरामीहरू हरेक घरमा बढ्दै जानु समस्याको रुपमा रहेको उहाँले बताउनुभयो । नसर्ने रोगको न्युनीकरणका लागि स्वस्थ खानपान, दैनिक जीवनयापन तथा व्यायमलाई ध्यान दिनुपर्ने उहाँको भनाई छ । 

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update