Erani Mahal
पाल्पामा स्वास्थ्य वीमा गर्ने ८० प्रतिशतले घटे

पाल्पा - अस्पतालमा सुबिधा नपाएपछि पाल्पामा स्वास्थ्य वीमा गर्ने विमितको सङ्ख्या ८० प्रतिशतले घटेको छ । जिल्लाका दुई ठूला अस्पतालले वीमामार्फत हुने उपचार सेवा हटाएपछि पाल्पामा स्वास्थ्य वीमा गर्ने विमितहरूको सङ्ख्या ह्वात्तै घटेको हो । 

वीमा बोर्ड पाल्पाका अनुसार यो वर्ष वीमा गर्ने चार हजार ३९५ परिवार मात्र रहेका छन् । आवको अन्तसम्ममा थप केही विमितले नवीकरण गर्ने उसको अपेक्षा छ । चार हजार बढी स्वास्थ्य वीमा गरेकामा जेष्ठ नागरिक, दीर्घरोगी तथा अन्य सामान्य मानिस छन् ।

अघिल्लो आव २०७९/०८० मा ३७ हजार ५४३ परिवारले स्वास्थ्य वीमा गरेका थिए । आव २०७८/०७९ मा ४२ हजार ६४५ परिवारले स्वास्थ्य वीमा गरेकामा पछिल्लो वर्षमा वीमा गर्ने विमितको सङ्ख्या घट्दै गएको कार्यालयका दर्ता अधिकारी कल्पना बस्यालले जानकारी दिनुभयो ।

जिल्लाका दुई ठूला अस्पताल मिसन अस्पतालले ६ महिनाअघि वीमा सेवा बन्द गर्ने निर्णय गरेको थियो । यस्तै लुम्विनी मेडिकल कलेज प्रभासले डेढ वर्षअघि नै वीमा सेवालाई स्थगन गर्ने निर्णय गरेको वीमा बोर्ड पाल्पाले जनाएको छ । यी दुई ठूला अस्पतालले वीमा मार्फत हुने सेवा बन्द गरेपछि वीमा गर्ने मानिसको सङ्ख्या दिनानुदिन घट्दै गएको छ ।
जिल्लाका दुई ठूला अस्पतालले सेवा दिन छाडेपछि विमित गर्ने परिवार सङ्ख्या घटेको वीमा बोर्ड पाल्पाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । तानसेनस्थित पाल्पा अस्पताल र रामपुर अस्पतालबाट नपाएको सेवा लिन यहाँको मिसन अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा बिरामी जाने गरेका थिए । 
सरकारी अस्पतालमा यहाँका बिरामीले खोजेअनुसारको सेवासुबिधा नहुँदा स्वास्थ्य वीमा गर्ने सेवाग्राही आकर्षित हुन सकेका छैनन् । सरकारी अस्पतालमा विभिन्न रोगको उपचार नहुँदा स्वास्थ्य वीमा गर्ने मानिसको सङ्ख्या घट्दै गएको हो । यसअघि सरकारी अस्पतालले रिफर गरेको आधारमा अधिकांश बिरामीले मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिदै आएका थिए । 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update