Erani Mahal
कर्मचारी नहुँदा पाल्पामा भूमि आयोगको काम सुस्त

पाल्पा – कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अबरोध सिर्जना भएको  आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् । 
आयोगको काम अगाडि बढाउन १० जना प्राविधिक तथा अन्य प्रशासनिक कर्मचारी आवश्यक भएपनि हाल एक जना मात्र कर्मचारी रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले जनाएको छ । जिल्लाभरिबाट भूमिहीन सुकुकम्बासीबाट आएका निवेदनको टुङ्गो लगाउन आयोगले छिटो काम गर्न खोजेपनि कर्मचारी अभावमा काममा अबरोध सिर्जना भएको जिल्ला अध्यक्ष मोहनलाल गैरेले बताउनुभयो । 
जग्गा, नापजाँच गर्न, फिल्डबुक तयार गर्न, श्रेष्ता कायम गर्न आवश्यक कर्मचारीको व्यवस्था हुन नसक्दा काममा ढिलासुस्ती भएको गैरेले बताउनुभयो । वि.स. २०७८ माघ महिनामा नियुक्त भएपछि आयोगका पदाधिकारीहरूले बिस महिनाको अबधिमा रामपुर नगरपालिकाभित्र ७६३ वटा लालपूँर्जा वितरण गरेर सकेको छ । रामपुरमा नयाँ समितिआउनुभन्दा अघि पनि जग्गा नापजाँच तथा फिल्डबुक तयार गर्ने काम भइसकेको थियो । 
२२ महिनाको अबधिमा रामपुर नगरपालिकामा बाहेक अन्य कुनै पनि पालिकाका भूमिहीन, सुकुम्बासी तथा विपन्न दलित समुदायलाई लालपूँर्जा वितरण हुन सकेको छैन । हाल जिल्लाभरिबाट आठ हजार पाँच सय बढी सुकुम्बासी, भूमिहीनले पूँर्जाका लागि निवेदन दिएका छन् । तर कर्मचारी अभावमा भूमिहीनको निवेदन लिनेबाहेक अन्य काम खासै अगाडि बढाउन नसकेको आयोगका पदाधिकारीले बताएका छन् ।
पछिल्लो समय तानसेन–२, ३, ४, ६ र ९ वडाका भूमिहीन सुकुम्बासीका एक हजार ७२४ वटा निवेदन सङ्कलन भएको छ । ती निवेदनमाथि जाँचबुझ गरेर नक्सा र फिल्डबुक तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update