Erani Mahal
गठबन्धनका राष्ट्रिय सभामा उम्मेदवारहरूसँग पाल्पामा परिचय तथा अन्तरक्रिया

पाल्पा - सत्तारुढ गठबन्धनका उम्मेदवार बनेकाहरू मतदाता रिझाउन पाल्पा आउनुभएकाे छ । राष्ट्रिय सभामा गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकाहरू पाल्पामा मत माग्न आउनुभएकाे हाे । 

मंगलबार तानसेनमा मतदाता र उम्मेदवारहरुसँगको परिचयात्मक तथा प्रचार–प्रसार कार्यक्रम भएकाे छ । कार्यक्रममा नेपाली काँग्रेस नेता एवं लुम्बिनी प्रदेशका सांसद, पूर्व मन्त्री वीरबहादुर रानाले  राष्ट्रिय सभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गर्दै मदान गर्न सबैलाई आग्रह गर्नुभएकाे थियाे ।

यस्तै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि दुवै गठबन्धनबाट इमान्दार, निष्कलंक छवि भएका व्यक्तिहरु उम्मेदवार रहेकाले उनीहरुलाई राष्ट्रिय सभामा विजयी बनाउन आग्रह गर्नुभयाे । 

परिचयात्मक कार्यक्रममा गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति एवं युवा नेता हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विक, एकीकृत समाजवादी पाल्पाका अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चा पाल्पाका उपाध्यक्ष टिकाराम पौड्याल लगायतले सबै मतदातालाई मत गठबन्धनका उम्मेदवारलाई दिन आग्रह गर्नुभयाे ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट उम्मेदवार बनेका रोल्पाका माओवादी नेता झक्कुप्रसाद सुवेदी र गुल्मीकी काँग्रेस नेतृ विष्णुकुमारी सापकोटाले उम्मेदवारी दिनुभएकाे छ । नेकपा माओवादी केन्द्रका सुवेदीले २०६४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गर्नुभएकाे थियाे । यस्तै काँग्रेसकी सापकोटा भने पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य रहनुभएकाे छ । उहाँ गुल्मी पार्टी सचिव तथा महिला संघ सभापतिको जिम्मेवारी बहन गर्नुभएकाे थियाे । 

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दुई सिटका लागि सात जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा ८७ प्रदेशसभा सदस्यका साथै पालिकाका २ सय १८ प्रमुख–उपप्रमुख गरी ३ सय ५ जना मतदाता छन् । प्रदेश सभा सदस्य, स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् । जसका लागि निर्वाचन आयोगले प्रदेशसभाका एक सदस्य बराबर ५३ र स्थानीय तहका एक प्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update