Erani Mahal
तानसेनकाे पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाइ

पाल्पा — चार दिनसम्म चलेको तानसेन नगरपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माध्यमिक विद्यालय तानसेनले जितेको छ । जनता माविले ११ स्वर्ण सहित ९ रजत र ९ कांस्यसहित २९ पदक जितेको तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिए ।  

 

तानसेन टुँडिखेलमा सम्पन्न तानसेन नगरपालिका २७ माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको हो । १० स्वर्ण, ९ रजत र ९ कांस्य गरी २८ पदक जितेर दमकडा नमुना माध्यमिक विद्यालय दोस्रो भएको छ । तानसेन नगरपालिका–७, सुन्दरगाउँको सरस्वती माविले १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेले बताए ।

 

 

 

विजेता तथा उपविजेतालाई तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घिमिरे, शिक्षा शाखा प्रमुख न्यौपानेले शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे । नगरउपप्रमुख सिंजालीले प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका साथै अनुशासन कायम गराउन सहयोग पुग्ने बताइन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिए ।

 

 

उनले खेलकुदको क्षेत्रमा कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा समेत जोड दिए । शिक्षा शाखा प्रमुख न्यौपानेले खेलाडीलाई हौसला प्रदान गर्ने गरी नगरपालिकाले काम गर्दै आएको बताए ।

 
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update