Erani Mahal
[त्याे बेलाकाे दसैं : पारि मगर गाउँमा बन्दुक पड्केपछि टीका लगाइन्थ्याे]
nnn
- नारायण अधिकारी, म त्यति पुरानो मान्छे त हैन, अझ म भन्दा अग्रजहरू हुनुहुन्छ । तर दशै मान्ने तरिका पहिले र अहिलेमा धेरै फरक हुन थाल्यो । म सानो हुँदा गाउँभरि मान्छे थिए । गाउँ फोहर थियो होला तर रमाइलो थियो । दशै लागेपछिको रौनक नै अर्कै हुन्थ्यो । सबभन्दा पहिले गाउँमा हाक हालेर बाटो खन्ने र स्कुल लिपाउने काम गराइन्थ्यो । अनि कमेरो र रातो माटोले घर लिपिन्थ्यो । हाम्रो घर सानो थियो, खरले छाएको । घर लिप्दा बारुलाका गोलाहरूबाट जोगिनु पर्ने, बारुलाले टोकेर मुखै सुनिन्थ्यो, दुइ दिनसम्म । बाले कान्लाको बनकसी (बाबियो) खर काटेर हाम्रा लागि पिङ बाटिदिनु हुन्थ्यो र आँगनको छेउको बडहरको घरपट्टि फर्केको हाँगामा पिङ् बाँधिदिनु हुन्थ्यो । आमाले ताइ बसालेर घिवैघिउमा काँडा उठेका सेल पकाइ दिनुहुन्थ्यो । उता कराहिमा एक बिसौली मासु भुटेर राखिन्थ्यो । मलखातोमा काँक्रा फलेका हुन्थे । त्यही टिपेर अचार पार्नुहुन्थ्यो । सेल र मासु खाएका चिल्ला हातले पिङको डोरो समातेर हुई-हुई गर्दै पिङ खेल्दा बल्ल दशैं आए जस्तो हुन्थ्यो । आँगन खुर्केर, लिपेर सफा हुन्थ्यो । कान्लाका मुसेखरिका गाँजमा माकुराले जालो लाउथ्यो र त्यसमा शीत पर्दा सेतो पछ्यौरी जस्तै देखिन्थ्यो । केही ठूला छिर्के मिर्के माकुराहरूले दबदबे र कुटमेरोमा लगन गाँठो पारे झैँ बेरेर जाल बनाउँथे ।हामी फूल च्यातेर जालोमा फ्याक्थ्यौँ । त्यो त पछ्यौरीमा फूलबुट्टा भरेजस्तो देखिन्थ्यो । कान्लाका बेलौतिका बुटामा रातो टीका बसेका र पहेँलै पाकेका बेलौती हुन्थे । खोल्सा खाल्सीका झाङमा रातै गोँडर्से पाक्थे । रोटी खाएर मिच्छेका मुखले बेलौती र गोँडर्से खान पाउँदा पालो पाउथे । बोडि र सिल्टुम् लछप्पै फल्थे । बारिमा डुलेर तिनका कोशा टिपेर खाँदा अर्कै आनन्द आउथ्यो। नून, तेल र कपडा बाहेक अरु केही किन्ने चलन थिएन । दशैँको साइत पारी मगर गाउँमा बन्दुक पड्केपछि शुरु हुन्थ्यो । नुहाइ, धुवाइ गरेर खाटको पत्रमा पट्याएर राखेको नयाँ लुगा लाएर टीका लगाउन पाउँदा हामी खुशिले फुरुङ्गै हुन्थेम् । त्यसलाई आज शब्दमा व्यक्त गर्नै सकिँदैन । घरमा टीका थापेपछि गाउँ डुलेर टीका लगाइन्थ्यो । पूरै गाउँ वारिपारी एउटै परिवार जस्तो थियो । टीका थाप्न जाँदा केरा, रोटी र नातोले भेटेमा सुका, मोहर दछिना पनि पाइन्थ्यो । घर फर्किँदा जाँगेको गोजिमा छिर्लिङ् छिर्लिङ् पैसा बजाउदै आउदा लाहुरबाट फर्केजस्तो आनन्द आउथ्यो । तब पो दशै जस्तो हुन्थ्यो । आज आएर अनुभव गर्दा कहाँ गए ती दिन ? एकल काटे समाज, दशैं पनि मान्ने र नमान्नेको समूह, देखासिकी र आडम्बरी प्रवृत्ति र खस्किँदै गएको संस्कार देख्दा बिरक्त लागेर आउँछ, आफैंलाई । - सबैलाई विजया दशमीको हार्दिक शुभकामना !
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update