Erani Mahal
लागू औषध र यौन-प्रजनन् स्वास्थ्यबारे कार्यक्रम
palpa-pgm
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा लागू औषध सम्बन्धी समन्वयात्मक कार्यक्रम तथा यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लागू औषध के हो, यसको असर, किशोर किशोरी र समाजमा पार्ने असरका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आम युवा तथा युवतीलाई लागूऔषध जस्ता दुव्र्यसनीबाट जोगाउन सबै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । सुरुमा अधिकांश युवायुवती साथीको लहैलहैमा लागेर लागू औषध प्रयोग गर्ने र पछि त्यसबाट मुक्त हुनै नसक्ने गरी फस्ने गरेको उहाँले बताउनुभयो । युवा तथा किशोर किशोरीलाई लागूऔषध, आत्महत्यालगायतका समस्याबाट जोगाउन सबैको महत्वपूर्ण भूमिका रहने अध्यक्ष चिदीले उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्माले लागू औषध नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पाल्पामा लागूऔषधको खासै समस्या नभएपनि गाँजालाई लागू औषधको रुपमा प्रयोग हुने गरेको उल्लेख गर्नुभयो । यस्तै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक सोबाकान्त न्यौपानेले किशोरास्थामा हुने शारिरीक, मानसिक र सम्वेगात्मक परिवर्तनका बारेमा जानकारी दिनुभयो । उहाँले किशोरास्थामा हुन सक्ने विभिन्न नकारात्मक पक्षबाट बच्न आम अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हरेक नागरिकलाई कुलतबाट मुक्त गर्न राज्यमात्र नभएर आम नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रजिअ बास्तोलालको अध्यक्षता, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका कार्यबहाक सभापति माधव अर्यालको स्वागत, दिव्य ज्योति नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाको धन्यवाद ज्ञापन तथा संघकै युवा कमल बस्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा यस क्षेत्रका अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update