Erani Mahal
‘स्थानीय तह अपांगतामैत्री नभएको गुनासो’

पाल्पा - जिल्लाका स्थानीय तह अपांगतामैत्री नभएको गुनासो गरेका छन् ।
राष्ट्रिय अपांग महासंघ र तानसेन नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार तानसेनमा आयोजित एक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । तानसेन नगरपालिकाका कार्यपालिका सदस्य मन्जु विकले यहाँका कार्यालय अपांगतामैत्री नभएको बताउनुभयो । सेवा लिन पुगेका अपांगता भएका व्यक्तिलाई असहज हुने गरेको बताउनुभयो । आफूहरुजस्ता साङ्गोपाङ्गोलाई समेत कतिपय कार्यालयमा सेवा लिन कठिन हुन्छ । कार्यालयका भवनलाई अपांगतामैत्री बनाउन उनले सुझाउनुभयो ।


तानसेन वडा नम्बर ६ का वडाध्यक्ष सागरमान महर्जनले अपांगताको क्षेत्रमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो । परिचयपत्र दिने र भत्ता बाँड्ने नियमित काम हुने गरेका छन्। तर उनीहरूको जीवनलाई सहज बनाउने महत्वपूर्ण खालका रचनात्मक काम हुन नसकेको उहाँले बताउनुभयो ।


कार्यक्रमका बेला मात्र बोलेर नभइ नीति तथा कार्यक्रममा समावेश गरेर बजेट ल्याउनुपर्ने सिर्जनशील अपांग स्वालम्बन केन्द्र तानसेनका प्रबन्धक सन्दीप भट्टराइले बताउनुभयो । अपांगता भएका व्यक्तिको प्रकृतिलाई ध्यानमा राखेर सबै कार्यालयमा अपांग सहयता कक्ष निर्माण गर्नुपर्छ । भवन अपांगतामैत्री बनाउनु आवश्यक छ । दोभासेको व्यवस्था गर्नुपर्छ । ब्रेल लिपिमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो ।


संविधानमा उल्लेख भएबमोजिम अपांगताका क्षेत्रमा सरकारले काम गर्न नसकेको राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य शिवकुमार ज्ञवालीले बताउनुभयो । ‘उनीहरूको क्षमताका आधारमा विभिन्न सीपमूलक काममा जोड्न सकिन्छ । विभिन्न व्यवसायमा प्रोत्साहित गर्न सकिन्छ। कार्यालयमा जागिर उपलब्ध गराउन सकिन्छ ।’ उहाँले भन्नुभयो ‘सरकारले अझै पनि सकारात्मक भूमिका निभाएको छैन् ।’ अपांगता भएका व्यक्तिहरूको यथार्थ विवरण संकलन गरेर योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 


तानसेन नगरपालिकाले यसअघिको स्थानीय सरकारले दिंदै आएको उपचारका क्रममा लाग्ने यातायात खर्च वापतको ५०० रुपयाँ कटौती गरेको छ । नगरपालिकाले अपांगता भएका व्यक्तिको स्वास्थ्य बीमा गर्ने र नवीकरण गर्ने कार्यलाई समेत निरन्तरता दिनुपर्ने कार्यक्रममा सहभागीहरूले माग गर्नुभयाे ।  


अपांगताको हितमा बनेका कानुनी सचेतनादेखि मेलमिलाप कर्ताको रुपमा अपांगता भएका व्यक्तिलाई समेत सहभागी गराएको नगर उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । बेलाबेलामा घुम्ती शिविर सञ्चालन गरेर अपांगता परिचयपत्र वितरणदेखि विभिन्न सेवा गाउँघरमै पुगेर दिने गरेको उहाँले बताउनुभयो ।


कार्यक्रममा प्राप्त सुझावलाई समावेश गरे आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम ल्याउने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । छुटेका केही महत्वपूर्ण कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने उहाँले आश्वासन दिनुभयो । 


 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update