Erani Mahal
पाल्पामा घरघरमै पुगेर जेष्ठ नागरिकको उपचार गरिने 

पाल्पा - पाल्पा जिल्लाका गाउँगाउँमा रहेका जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार गरिने भएको छ ।  जिल्लाको १० स्थानीय तहमा रहेका ज्येष्ठ नगारिकहरुको घरमै पुगेर उपचार गर्ने गरि तयारी भएको छ । लुम्बिनी प्रदेश सरकारको योजना, स्वास्थ्य कार्यालय पाल्पाको समन्वय र स्थानीय सरकारको नेतृत्वमा घरदैलोमा उपचार सेवा लैजान थालिएको हो ।

 


लुम्बिनी प्रदेशको ज्येष्ठ तथा अति अशक्त नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि २०८० मा व्यवस्था भए अनुसार ८० बर्ष माथिका ज्येष्ठ र अति अशक्त नागरिकको घर घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

 


सरोकारवालाहरु संगको संयुक्त बैठकले दश स्थानीय तहका ८१ वडाहरुमा पौष महिनाको चौथो हप्तादेखि माघको दोस्रो हप्तासम्म ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त नागरिकहरुले घरमै उपचार पाउने गरी कार्यक्रमको तयारी गर्ने सहमती अनुसार काम अगाडि बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

 


पाल्पामा गत वर्ष ७० बर्ष भन्दा माथिका ६ हजार ५ सय ९६ जना ज्येष्ठ नागरिकहरुको घर घरमै पगेर स्थानीय सरकारले स्वाथ्य उपचार दिँदा स्थानीयवासी खुसी भएका थिए । उनीहरुले घरमै सेवा प्राप्त गर्दा जनप्रतिनिधिहरुको प्रशंसा समेत गरेका थिए ।
कार्यक्रम सञ्चालनका लागि दश स्थानीय तहमा खर्च गर्नेगरी प्रदेश सरकारबाट १८ लाख बजेट आएको छ । अन्य आवश्यक खर्च स्थानीय सरकारको लागत साझेदारीमा कार्यक्रम हुने छ ।

 

 

अहिले पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिकामा गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिक ३ हजार ८ सय ९ रहेका को स्वास्थ्य कार्याल पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । 

 


उहाँका अनुसार अति अशक्त अन्तरगत अपांगता भएका व्यक्ति जसले क र ख वर्गको कार्ड प्राप्त गरेका छन उनीहरुमा क वर्गका अपांगता भएका व्यक्ति ५ सय ८९ र ख वर्गका अपांगता भएका व्यक्ति १ हजार ५ सय ११ गरी कुल ५ हजार ८ सय ५६ जनाले घरमै स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update