Erani Mahal
अर्थतन्त्र लयमा फर्किदैँछ : अर्थमन्त्री महत

पाल्पा - अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किदै गएको बताउनुभएको छ । शुक्रबार पाल्पाको रामपुरस्थित अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा बोल्नुहुँदै उहाँले अर्थतन्त्रले विस्तारै लय समाउँदै गएकाले हतोत्साही नहुन आग्रह गर्नुभयो ।  

विगतमा जथाभावी लगानी गर्न दिँदा नै अहिले अर्थतन्त्र सुधार गर्न गाह्रो परेको अर्थमन्त्री महतले बताउनुभयो । लगानीकर्ता र ऋणीले विगतमा विचार नगर्दा समस्या आएको र केही व्यक्तिले नेपालमा केही गर्न सकिँदैन भन्ने हल्ला गरेका कारण पनि अर्थतन्त्र केही समय समस्यामा परेको बताउनुभयो । अहिले विस्तारै अर्थतन्त्रले लय समाउँदै गएको र घरजग्गाको कारोबार बढेको, सेयर बजार राम्रो बन्दै गएको, बैँकमा लगानीयोग्य रकम रहेको, पर्यटक बढेकोले अर्थतन्त्र सही स्थानमा पुगेको उहाँको भनाई छ । 

उहाँले सरकारले अर्थतन्त्र सुधारका लागि र अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधारमा लगानी गरेको बताउनुभयो । पर्यटकीय स्थलमा सहज रुपमा पुग्ने पूर्वाधार, गाउँमा उत्पादन भएको बस्तु निकासी गर्न पनि राम्रो पूर्वाधार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सीमित बजेटका बावजुतपनि सरकारले पूँजी बजार सुधार गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले यति सुन्दर देश अरुतिर नभएकाले देशमा आर्थिक उन्नतिका लागि केही गरिछाड्ने जिकिर गर्नुभयो । देशमै केही गर्न सकिन्छ भन्ने विस्वास राखेर अघि बढ्न सबै युवा तथा व्यवसायी, उद्योगीलाई उहाँले आग्रह गर्नुभयो । 

अहिले भइरहेको व्यापार घाटालाई कम गर्दै लैजानुपर्ने भन्दै हाइड्रो पावरको माध्यम्बाट विद्युत् निर्यात गर्न सकिने धारणा उहाँले राख्नुभयो । अहिले सरकारले स्वदेशमा उत्पादन भइरहेको विद्युत् निर्यातका लागि पहल गरिरहेको र त्यसले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने अर्थमन्त्री महतले दावी गर्नुभयो । 
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update