Erani Mahal
बगनासकाली गाउँपालिका स्तरीय कृषि प्रदर्शनी

पाल्पा -  बगनासकाली गाउँपालिकामा कृषि प्रदशनी मेला सम्पन्न भएको छ । मेलाको उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष एवं गाउँपालिका महासंघ नेपालका महासचिव खिमबहादुर थापाले पालिकाले गरेको कृषि प्रर्दशनी र उत्कृष्ट किसानहरुको छनौट तथा सम्मानले किसानहरुमा उत्साह बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिमा व्यवसायीकरण आवश्यक रहेको बताउनु हुँदै स्थानीय सरकारले किसान र उनीहरुको समस्या समाधानमा सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले किसानको आत्मबल बढाउन हरेक क्षेत्रको सहयोग हुनुपर्नेमा जोड दिनुभएको थियो ।

 

 

उहाँले बाँदरको बढ्दो समस्यालाई समाधानका लागि पालिका महासंघले सरकार र संसदलाइ निरन्तर झक्झक्याएको बताउँदै यसको नियन्त्रणका लागि कानुन संशोधनमा समेत पहल गरिरहेको उल्लेख गर्नुभएको थियो । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पालिकाले गतवर्ष वडा वडामा प्रदर्शनीगरेको र यस वर्ष पालिका स्तरीय गरेको उल्लेख गर्दै कृषि क्षेत्रको विकासमा पालिका निरन्तर लागेको बताउनु भएको थियो ।

 

 

कार्यक्रममा कालीगण्डकी गाउँपालिका स्याङ्जाकी उपाध्यक्ष सावित्रा कोइरालाले बगनासकाली गाउँपालिकाले गरेको कृषि प्रदर्शनीले किसानको श्रमको सम्मान गरेको उल्लेख गदै अनुकरणीय कार्यको सिको सबैले गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्याल, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, कृषि ज्ञान केन्द्रका पाल्पाका सन्तोषकुमार चौधरी, अगुवा कृषक रणप्रताप खाडलगायतले किसानले उत्पादन गरेका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेलामा प्रतियोगितात्मक कृषि प्रर्दशनले विशेष भूमिका खेल्नेमा जोड दिनुभएको थियो ।

बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले गाउँपालिकाको प्रमुख आधार कृषि भएको उल्लेख गर्दैै कृषिलाई व्यवसायीकीकरणमा ध्यान दिएको र आगामी दिनमा समेत प्रर्दशनीलाई निरन्तरता दिने बताउनु भएको थियो ।

 

 

कार्यक्रममा विभिन्न ६ विधाका कृषि उपजसहित १ सय २६ जना कृषक सहभागी रहेका थिए । ६ वटै विधाका प्रथम दोस्रो, तेस्रो र सान्तवना हुनलाइ प्रमाणपत्र सहित क्रमशः ५ हजार, ३ हजार ५ सय,२ हजार र १ हजार प्रदान गरिएको कृषि शाखा प्रमुख रामहरि गैरेले जानकारी दिनुभयो ।

 

 

प्रदर्शनीमा गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापासहित कार्यपालिका सदस्यहरु, गाउँ सभाका सदस्यज्यूहरु, महिला संजाल उपसंयोजक, युवा तथा खेलकुद समिति उपसंयोजक, आदिवासी जनजाति समन्वय समितिका सदस्य, कालीगण्डकी गाउँपालिकाका कृषि शाखा प्रमुख, गाउँपालिकाका कृषि शाखा प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुख, पत्रकार, ९ वटै वडाका किसानहरुलगायतको सहभागिता रहेको थियो ।

 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update