Erani Mahal
तानसेन खानेपानी समितिलाई विद्युत प्राधिकरणद्वारा महशुलमा ५० प्रतिशत छुट


तानसेन - तानसेनका स्थानीय बासिन्दालाई पिउने पानी व्यवस्थापन गरिरहेको तानसेन उपभोक्ता समितिले खानेपानी महशुलमा ५० प्रतिशत छुट पाएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा रहेको ग्राहक वर्गीकरणलाई परिवर्तन गरेपछि समितिले मासिक महशुलमा ४९.६३ प्रतिशत छुट पाएको हो । 
नेपााल विद्युत् प्राधिकरणबाट तानसेन खानेपानी उपभोक्ता समितिले छुट पाएको पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासेनीले जानकारी दिनुभयो । तिनधारा, सिस्ने, भुल्के तथा कालीगण्डकी खानेपानी योजना सञ्चालन गरिरहेको समितिले महशुलमा छुट पाएको हो । समितिले सबैजसो स्थानबाट पानी लिफ्ट गरेर तानसेन बजारमा वितरण गरिरहेको छ । 
तानसेन खानेपानी उपभोक्ता समितिले मासिक १४ लाख रुपियाँ बढी खानेपानी महशुल प्राधिकरणलाई बुझाउँदै आएकोमा २०८० माघ महिनादेखि झण्डै ५० प्रतिशत छुट पाएको मरासेनीले बताउनुभयो । उपभोक्ता समितिले छुट पाएपछि समितिको मासिक सात लाख रुपियाँ बचत हुनेछ भने वार्षिक झण्डै एक करोडको विद्युत् महशुलका आर्थिक भार कम हुने उहाँले बताउनुभयो । 
तानसेनको खानेपानीको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले ग्राहक वर्गीकरण गरेर उपभोक्ता सतितिलाई महशुलमा छुट दिएको जनाएको छ । तानसेनका उपभोक्ताले अहिले पनि प्रतिलिटर पानीका पाँच रुपियाँ बढी तिर्दै आएका छन् । खानेपानीको खर्च धान्न नसक्ने भएपछि उपभोक्ताबाट महशुल उठाउन बाध्य भएको उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । तानसेनमा खानेपानीको व्यवस्थापनमा पाँच वटा मुलबाट पम्पिङ् गरेर पानी तानसेनको माथिल्लो भागमा तान्नुपर्ने बाध्यता छ । 
पानी पम्पिङ् गरेर वितरण गर्दा विद्युत् महशुल खर्च धेरै लाग्ने भएकाले उपभोक्तालाई खानेपानीको महशुल बढी तिर्नु परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणले पानीको विद्युत् महशुलमा छुट गराएपछि भने उपभोक्तालाई समेत पानीको महशुल कम हुने समितिका उपाध्यक्ष लालमने पुनले जानकारी दिनुभयो । प्राधिकरणले विद्युत् महशुलमा गरेको छुटले तानसेनमा खानेपानी वितरण प्रणाली सहज बन्ने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update