Erani Mahal
खहरेकाे बजार व्यवस्थित बनाउन समिति गठन

पाल्पा - जिल्लाकाे माथागढी गाउँपालिकाको खहरे बजार व्यवस्थापन समिति गठन भएकाे छ ।  माथागढी गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने खहरे बजारको व्यवस्थापनका लागि समिति गठन भएकाे हाे । 

वडा नं. २ र ३ को संयुक्त आयोजनामा गरिएको भेलाले तारा बहादुर सारुको नेतृत्वमा १७ सदस्यीय बजार व्यवस्थापन समिती गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न स्थानीय सरकार गम्भिर रहेको बताउनुभयो । अध्यक्ष चिदीले कार्यान्वयनमा समुदायको पनि साथ सहयोगको आवश्यकता रहने भन्दै सबै पक्ष ईमान्दारी र जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनु भयो ।

 

 

भेलाको उद्धेश्यको बारेमा माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तिमगरले जानकारी गराउँदै विकास निर्माण र जनताको चाहाना बारे अन्तरक्रिया गरिनुका साथै मुलत मानव बस्तीबाट उत्सर्जीत फोहोर मैलाको व्यवस्थापन र हाटबजार संचालन सम्बन्धमा जनताको सुझाव सल्लाह संलकन गरेर आवश्यक योजना बनाउने बताउनु भयो ।

 

 

बजार व्यवस्थापन सम्बन्धमा फोहर मैला उचित व्यवस्थापन हुन नसक्नु, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, असुरक्षा, चोरी डकैती, सडक वत्तीको पर्याप्त नहुनु , क्यारेम बोर्ड र तास जुवाको विकृती, युवाहरुमा लागुऔषध तथा दुरव्यसनी प्रभाव, प्लाष्टिक जन्य सामाग्रीको बढ्दो प्रयोगले वातावरण दुर्गन्धित बन्दै गएकोलगाएतका समस्या सहभागीले उठाएका थिए । यसको उचित व्यवस्थापनको लागि स्थानीय सरकारले पहल गर्नु पर्ने सहभागीहरुले बताएका छन् ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे, कार्यपालिका सदस्य लिला चिदी, वडा सदस्यहरु मान बहादुर राना, यान सिंह थापा, बेलि सरा राना, रुप्से स्वास्थ्य चौकी प्रमुख बिक्रम चिदी, कसेनी स्वास्थ्य चौकी प्रमुख पवीसरा चिदी, निवर्तमान जनप्रतिनीहरु, स्थानीय क्लव तथा संस्थाका प्रतिनिधीहरु र स्थानीयबासीहरुले छलफलमा भाग लिएका थिए ।

 

भेलामा भएको छलफल पश्चात सबैले फोहोरमैलालाई कुहिने, नकुहिने, पुन प्रयोगमा ल्याउन सकिने गरी छुट्याउने, कुहिनेलाई कम्पोष्ट मल बनाउने, नकुहिने र पुन प्रयोगमा ल्याउन सकिनेलाई नवगठित बजार व्यवस्थापन समिति र गाउँपालिकाले समन्वय गरेर आवश्यक व्यवस्थापन गरिने भएको छ ।

भेला माथागढी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बोम बहादुर ठाडाको अध्यक्षता र वडा नं. ३ का वडा सचिव प्रकाश पाठकको सञ्चालनमा सम्पन्न भएको हो ।

 
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update