Erani Mahal
चुनावी आश्वासन र विर्खे ...........................लघुकथा !
dhan thada
जीवनमा केही परिवर्तन नभएको बिर्खे पिँढीमा बसेर हुक्का तान्दै थिए । बिर्खेका स्वास्नी खरले छाएको सानो झुपडीमा तिहुन पकाउदै थिइन भने पुन्टेकी आमा मुखियाको मेलोमा । हुक्काको घररर अनि लोरीको मिश्रित ध्वनिले पुन्टे झोलुङ्गेमा आनन्द लिँदै थिए । यता खोरमा बाख्रीले घाँस माग्दै थिए या अरु केही नै, एकनास म्याम्या गर्दै थिए । म पनि अल्लारे पाराको मान्छे । एकाबिहानै के काम नै हुन्थ्यो र दिनभरि त लखर-लखर डुलेरै बिताउने गर्छु । त्यो दिन बिहान गाउँ चहार्दै बिर्खे काकाको आगनमा पाइला टेक्न पुगेछु । के गर्नुभएको हो काका , नातीलाई खेलाउदै हो ? म बुढोको अरु के काम नै हुन्छ र , गर्न सक्ने यहीँ मात्रै त हो । ल यता बास , पिँढीको छेउमा पिर्का देखाउदै भन्नुभयो के कामले आइस ? यतिकै घरमा बस्न झ्याउ मानेर हिँडिरहेको ! दुई मुठो घाँस लिन गएपनी त हुन्थ्यो नि ! दुहुनो भैंसी भएको होइन र घरमा ? ए काका , मलाई घाँस काटन सुहाउँ छ र ? म त त्यस्तो खस्ले मान्छे होइन नि ! मेरो यो कुरामा काकाले भन्नुभयो थुक्का ! अल्छी तिघ्रो , स्वादे जिब्रो । काकाको यो उखान टुक्काले म एकछिन अकमक्क भएँ । काका पनि केही बोल्नुभएन । केही समय वातावरण सुनसान हुन्छ । म प्रसंगलाई अन्त मोडेर सहज वातावरण ल्याउन प्रयास गर्दै यसपालि नि भोट हाल्न जानुहुन्छ होला नि काका ? चुनाव आउदै छ त । चुनावको कुरा गर्ने बित्तिकै काकाले मुख बिगर्नुभयो अनि सरासर भित्र पस्नुभयो । म अलमल्ल परेँ चुनावको कुरामा काकाले किन यस्तो व्यवहार देखाउनुभएको होला । केही समयपछि काका आफै बाहिर आउनुभयो कहिले अरे चुनाव अस्ति भर्खरै पनि भएको होइन र चुनाव ? हो काका , मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हो भने अस्ति भएको स्थानीय तह सदस्य निर्वाचन हो काका । यही बेला पुन्टेकी आमा मेलोबाट घरमा आउनुभयो र काकी पनि हातमा चकटी लिइ बाहिर निस्कनुभयो । चुनावले सबैलाई ताने जस्तै संयोगले परिवारका सबै जहान जम्मा भए । मैले अघिल्लो कुरालाई जोडेर पुनः के गर्नुहुन्छ त काका , भनेर प्रश्न दोहोर्‍याए । काकाले त्यति बोल्न मन गर्नुभएन अनि बोल्नलाई काकी अघि सर्नुभयो । खै बाबु यो भोट हालेर हामी जस्तोले के नै पाएको छ र , त्यो दिन एउटा भोटको लोभले भोट खसाल्ने ठाउँसम्म ठिटाहरु लगाएर भएनी बोकेर लान्छन , आँखा देख्नेले भोट हालीदिन्छन , त्यसपछि के-के हुन्छ मेसो पाइन्न । यसपटक नि भोट हाले के हुन्छ र बाबु ? काकीले सोध्नुभयो मैले केही भन्न सकिन , बरु काकाले मुख खोल्नुभयो । अब भोट माग्न आउँदा हामीलाई भोट दिनुभयो भने तपाईंलाई यस्तो हुन्छ , उस्तो हुन्छ भनेर अनेक झुठो आश्वासन दिनुहुन्छ तर हाम्रो लागि अहिलेसम्म केही भएको देखिन्न । मोटरबाटो ल्याए , गाडी चाल्नै छाडे । खेल मैदान बनाए , केटाहरू सबै विदेश हिँडे । स्कुल बनाए , पढाउन जति शहर तिर लागे । बिजुलीको लाइन त आए , बत्ती बाल्नै छाडे । विभिन्न संघसंस्था सहकारी खोलिए , हिसाबकिताब नै हराए । के-के न होला भनी योजना दिए , जनतालाई श्रमदानमा मात्रै पेले । खानेपानीको धारा बनाए , पानी आउन छाडे । आखिर भोट हालेर हाम्रो लागि के नै भएको छ र ? काकाले सासै नफेरी फटाफट आफ्नो दुखेसो पोख्नुभयो । म नबोलीकन सुनिमात्रै रहेँ । काकाले गाउँकै दुई तीन जनाको त नामै टोकेर भन्नुसम्म भन्नुभएको थियोे , कि मैले चाल नपाएको व्यवहार पनि थाहा पाउनुभएको रहेछ । एकछिन त म पनि अक्क न बक्क परेँ । पेटभित्र स्याल कराउन थालेपछि म त्यहाँबाट हिँडे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update