Erani Mahal
लेखक श्रेष्ठद्वारा लिखित पुस्तक तानसेनमा विमाेचन
IMG_1547
पाल्पा - इतिहासविद् एवं लेखक निर्मल श्रेष्ठद्वारा लिखित ‘समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापा, नेपाल अंग्रेजयुद्ध र महिषासुरमर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीजात्रा’ नामक पुस्तकको विमाेचन गरिएको छ । शनिबार तानसेनमा आयोजित एक कार्यक्रमका बीच उहाँको पुस्तक लेखकका नातिनीहरू श्रीयांशी खनाल र यशस्वी श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभयो । नेपालको इतिहास, कर्णेल उजिरसिंह थापाको योगदान तथा भगवती जात्राको बारेमा विस्तृत समेटिएको पुस्तकको विमोचन समारोहमा बोल्ने व्यक्तिहरूले पुस्तक पठनीय र ऐतिहासिक दस्तावेजको रुपमा रहेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पुस्तकले नेपालको यथार्थपरक इतिहास चित्रण गरेको बताउनुभयो । उहाँले लेखक श्रेष्ठले निरन्तर रुपमा मिहिनेत गरेर लेखेको पुस्तक आम पाल्पाली र नगरबासीको हातमा पु¥याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि एवं पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले कर्णेल उजिरसिंह थापाको बारेमा लेखिएको यो नै पहिलो पुस्तक भएको दावी गर्नुभयो । उहाँले पुस्तक हेर्दा केबल पुस्तकमात्र नभएर इतिहासको यथार्थपरक चित्रण गरिएको दस्तावेजको रुपमा रहेको उल्लेख गर्नुभयो । समीक्षक राजेशकुमार अर्यालले लेखकले मझधारमा रहेर नेपालको इतिहासलाई यथार्थपरक रुपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले धेरै इतिहासकारहरूले एकपक्षीय मात्र विषय समेट्ने गरेपनि श्रेष्ठले मझधारमा रहेर सत्यतथ्य केलाउने प्रयास गरेको उल्लेख गर्नुभयो । पुस्तकभित्र रहेका विभिन्न शीर्षक आफैँमा अर्को पुस्तक बनाउन सकिने गरी तथ्यहरूको संग्रहसहित पुस्तक आउनु नौलो प्रयोग भएको उहाँको भनाई छ । अर्का समीक्षक भीमसेन कार्कीले १० वर्षको मिहिनेतबाट पुस्तक तयार भएकाले यसभित्र अत्यन्तै महत्वपूर्ण सामग्री रहेको टिप्पणी गर्नुभयो । कार्कीले कर्णेल उजिरसिंह थापाको महिमासहित पाल्पाको भगवती जात्राको विषयमा समेत पुस्तकमा विस्तृत समेटिएको बताउनुभयो । उहाँले पुस्तक लेखनअघि लेखकले लामो अध्ययन् र अनु्सन्धान गरेको पुस्तकको विषयवस्तु हेर्दा पुष्टि हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले प्रकाशित पुस्तक इतिहास सम्बन्धी रुचि राख्ने लेखक र पत्रकारका लागि अत्यन्तै उपयोगी दस्तावेज हो भन्नुभयो । भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले लेखकले पाल्पालीले विगतमा गरेको योगदानको विस्तृत चर्चा गरेको बताउनुभयो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले आफूले समेत जानकारी नपाएको विषय समेत पुस्तकमा समेटिएकोमा खुसी व्यक्त गर्नुृभयो । कार्यक्रममा लेखक श्रेष्ठ स्वागत गर्नुहुँदै पुस्तकमा उल्लेख भएका विषयबस्तुलाई पुष्टि गर्ने महत्वपूर्ण प्रमाणहरू समेत राखिएको बताउनुभयो । उहाँले पुस्तकमा नेपालको इतिहास, नेपाल–अंग्रेज युद्ध, उजिरसिंह थापाको योगदान तथा भगवती जात्राका पक्षमा रहेर त्यतिबेला प्रचलनमा रहेको आर्थिक, सामाजिक विषयलाई पुस्तकमा उल्लेख गर्ने प्रयास गरेको बताउनुभयो । कार्यक्रम पुस्तकका प्रकाशक रेखा कार्कीको अध्यक्षता तथा निशान्त श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update